२९ असोज, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुक गम्भीर भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको र राजनीतिक अनिर्णयले जनताको अधिकार कमजोर बनेको निष्कर्ष निकाल्दै तत्काल राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ।
पार्टीले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्नका लागि कात्तिक २७ र २८ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले देशको संकट समाधानका लागि राजसंस्था, जेनजी समूह, परम्परागत राजनीतिक दल र सबै राजनीतिक शक्तिु बीच वृहद् राष्ट्रिय सहमति आवश्यक रहेको ठहर गरेको छ।
संवादको जिम्मेवारी अध्यक्ष लिङ्देनलाई
पार्टीले देशलाई गम्भीर सङ्कटबाट बचाउन विभिन्न राजनीतिक दल र पक्षहरूसँग औपचारिक छलफल र संवाद गर्ने महत्त्वपूर्ण जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको छ । राप्रपाले छठ पर्व लगत्तै देशभर जनसंवाद कार्यक्रम सञ्चालन गरी आम जनतासँग प्रत्यक्ष संवाद गर्ने निर्णय पनि गरेको छ।
राप्रपाले विद्यमान संविधान र निर्वाचन प्रणालीबाट मुलुकको समस्याको दीर्घकालीन समाधान नहुने ठहर गर्दै पनि आफू प्रजातान्त्रिक प्रक्रियाबाट अलग नहुने अडान कायम राखेको छ।
जेनजीको गतिविधिलाई लिएर चिन्ता
बैठकले हालैको जेनजी आन्दोलनका क्रममा देखिएका जबर्जस्ती चन्दा असुली, निस्शुल्क सेयर माग, र सार्वजनिक पदाधिकारीमाथि दबाब जस्ता केही गतिविधिहरूलाई लिएर चिन्ता व्यक्त गरेको छ। राप्रपाले यस्ता गैरकानुनी कार्यहरूमा संलग्न नहुन जेनजी पुस्तालाई आग्रह गरेको छ। पार्टीले सरकारसँग सुरक्षित लगानी र पारदर्शी प्रशासनिक वातावरण सुनिश्चित गर्न माग गरेको छ।
साथै, आन्दोलनका कारण भएको खर्बौंको आर्थिक क्षति उकास्न र व्यवसायीलाई सुरक्षा थ्रेटबाट मुक्त पार्ने नीति ल्याउन पनि आग्रह गरिएको छ।















