२९ असोज,वीरगञ्ज । मधेस प्रदेश प्रमुखको कार्यालयमा बुधबार एकाएक सुरक्षा व्यवस्था कडा बनाइएको छ। मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा प्रदेश प्रमुखको कार्यालयमा ठूला संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो।
प्रदेशमा मुख्यमन्त्रीमा दुई पक्षबाट दाबी परेपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको छ। यसैबीच दलबलसहित विभिन्न दलका प्रतिनिधिहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन्। सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेकी थिइन्। दाबी पेश गर्ने अन्तिम समय बुधबार दिउँसो ४ बजे तोकिएको थियो।
यसअन्तर्गत, लोसपा नेपालका जितेन्द्र सोनलले प्रदेश सभाका ५६ सांसदको समर्थनसहित मुख्यमन्त्री दाबी पेश गरेका छन् भने नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णकुमार यादवले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै पत्र पेश गरेका छन्।
प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको विवादसँगै राजनीतिक अवस्था अझै अस्थिर बन्दै गएको छ। आगामी दिनमा राजनीतिक दलहरूबीच तिव्र परामर्श र वार्ता हुने अपेक्षा गरिएको छ।















