३० असोज, काठमाडौं । गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा सरकारी कर्मचारीलाई धम्की दिने घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरीले कारबाही सुरू गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार, सोही आन्दोलनका क्रममा जेनजीको नाममा धम्की र अवैध गतिविधि सञ्चालन गरेको आरोपमा अर्जुनबहादुर शाहीलाई पक्राउ गरिएको छ। नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीहरूबाट धम्की र दबाबसम्बन्धी गुनासो परेपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, शाहीले जेनजी आन्दोलनपछि “ज्ञापनपत्र बुझाउने” नाममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूलाई भेटेर केरकार गर्ने, धम्की दिने र दवाब सिर्जना गर्ने गरेका थिए। अनुसन्धानका क्रममा उनीविरुद्ध वैदेशिक रोजगार ठगी र बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।
यस्तै, भदौ २४ गतेको जेनजी आन्दोलनकै क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने आरोपमा अर्का एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भनिने राजु परियार रहेका छन्।
प्रहरीका अनुसार, परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर हतियार बोकेर सिंहदरबार मूलद्वार अगाडिसहितका विभिन्न स्थानमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न भएको देखिएको छ। उनलाई तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आन्दोलनका क्रममा हिंसात्मक गतिविधि र अवैध धम्कीमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।















