३० असोज काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। आयोगको कान्तिपथस्थित सभाकक्षमा सुरु भएको छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको छ।
निर्वाचनको तयारी, कानुनी प्रक्रिया, समयसीमा तथा दलहरूका सुझाव लिन आयोगले यो छलफल आयोजना गरेको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत नजुटेपछि प्रतिनिधिसभा विघटन भयो। संविधानअनुसार अन्तरिम सरकार गठन गरिँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको हो।
भदौ २७ मा अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकिएको थियो।आयोगले नयाँ दल दर्ता गर्ने चाहना राख्ने समूहहरूलाई कात्तिक मसान्तभित्र दल दर्ता गरी प्रमाणपत्र लिन आग्रह गरेको छ।
बिहीबारको छलफलमा आयोगले निर्वाचन तयारीको अद्यावधिक स्थिति प्रस्तुत गर्नुका साथै दलहरूका धारणा, चिन्ता र सुझावहरू संकलन गर्ने उद्देश्य लिएको छ।राजनीतिक दलहरूबीच संसद् पुनःस्थापनाको विकल्प र तोकिएकै मितिमा निर्वाचन गर्ने विषयमा मत विभाजन देखिए पनि आयोगले प्रक्रिया संविधान र कानुनअनुसार अघि बढाउने स्पष्ट संकेत दिएको छ।















