Logo

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाको कडा आलोचना गरेका छन् ।

चितवनमा पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले ‘ओलीको कारण यति धेरै जनधनको क्षति भयो, तर आज पनि कुनै पश्चात्ताप छैन’ भन्दै नैतिक प्रश्न उठाएका हुन् । संयोजक दाहालले हालै सामाजिक सञ्जालबाट उठेको युवा आन्दोलन (जेनजी) लाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिएका छन् । उनले युवाहरूले उठाएको भ्रष्टाचारविरोधी अभियान माओवादी केन्द्रले आरम्भदेखि उठाउँदै आएको एजेन्डासँग अभिन्न रहेको बताए ।

गोलीकाण्डमा सुरक्षा लापरवाहीको आरोप

उनले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनालाई तत्कालीन ओली सरकारको गम्भीर सुरक्षा लापरवाहीको परिणाम ठहर गरे। उनले सुरक्षा संयन्त्रले संवेदनशीलता नदेखाएकै कारण स्थिति बिग्रिएको जिकिर गरे । प्रचण्डको आरोप छ कि कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरी गोली हानिनु अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद घटना थियो। उनले उक्त घटनापछि मृतकलाई सहिद घोषणा गर्ने र उच्चस्तरीय छानबिनको माग गर्ने निर्णय माओवादी केन्द्रले नै सबभन्दा पहिले गरेको बताए ।

निर्वाचन नै अहिलेको राष्ट्रिय एजेन्डा

संयोजक प्रचण्डले वर्तमान राजनीतिक अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको स्पष्ट पारेका छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबै निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेको बताए । यससँगै, संसद् पुनःस्थापनाको एजेन्डा गौण बनिसकेको र एमालेबाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको उनको निष्कर्ष छ ।

माओवादीको भविष्य र चुनावी दाबी

पार्टी कार्यकर्ताहरूलाई उत्साही बनाउँदै प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए। उनले देशभित्र र बाहिरका विश्लेषकहरूको आँकलनलाई आधार मान्दै आगामी निर्वाचनमा माओवादी केन्द्र तीन प्रमुख पार्टीमध्ये नम्बर एकमा आउने सम्भावना रहेको बलियो दाबी गरे । उनले कार्यकर्ताहरूलाई जनताको विश्वास प्राप्त गरी माओवादी केन्द्रलाई मुलधारको पार्टी बनाउन एक भएर निर्वाचन तयारीमा जुट्न आग्रह गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै