३१ असोज, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंहले पार्टी नेतृत्व र हालको कार्यनीतिप्रति तीखा टिप्पणी गर्दै १० वटा ठोस प्रश्न र सुझावहरू प्रस्तुत गरेका छन् ।
वीरगञ्जबाट निर्वाचित सिंहले पार्टीको हालको राजनीतिक दिशा, निर्णय प्रक्रिया र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई “वस्तुनिष्ठ मूल्यांकन र संस्थागत अनुशासनतर्फ फर्कन” आग्रह गरेका छन् ।
सिंहले भदौ २२ गते प्रस्तुत गरिएको ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्था’ शीर्षकको राजनीतिक प्रतिवेदन २४ घण्टा नपुग्दै असफल भएको उल्लेख गर्दै प्रश्न गरे, “फेल भएको कार्यनीति बोकेर हामी आगामी पाँच वर्ष कसरी अघि बढ्ने ? नेतृत्वले सुन्न रुचाउने कुरा मात्रै बोल्ने प्रवृत्तिले पार्टीलाई सच्याउँदैन, बरु सक्किने बाटोमा लैजान्छ।”
उनका अनुसार पार्टीका विश्लेषणहरू वस्तुनिष्ठ हुन नसक्नु नै पछिल्ला असफलताको मूल कारण हो ।
“नरसंहारको आरोपबाट सतही विश्लेषणले उन्मुक्ति मिल्दैन”
सिंहले भदौ २३ गतेको घटनालाई लिएर गम्भीर प्रश्न उठाए । उनका अनुसार, “जब पार्टी र राज्य सत्ता दुवै हाम्रो हातमा थियो, त्यसबेला भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामी आजीवन उन्मुक्ति पाउन सक्दैनौं।” उनले त्यसको विस्तृत, तथ्यपरक र जिम्मेवार समीक्षा आवश्यक रहेको उल्लेख गरे ।
सिंहले २४ गते भएको विध्वंसलाई २३ गतेकै प्रतिक्रियाको रूपमा व्याख्या गर्दै त्यसमा बाह्य घुसपैठको भूमिका रहेको बताए । तर उनले “घटनालाई विदेशी षड्यन्त्रका अमूर्त सिद्धान्त” भन्दै ढाकछोप गर्ने प्रवृत्तिको आलोचना गर्दै भने – “आफ्नो अकर्मण्यता लुकाउने नाममा घटनालाई षड्यन्त्रमा ढाल्नु फेरि पनि सतही समीक्षा मात्र हो ।”
सिंहले भ्रस्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा संलग्न भनिएका नेताहरू पार्टीभित्रै रहँदा पनि कारबाही नहुने अवस्थाको आलोचना गरे ।
उनले प्रश्न गरे – “त्यो विषयमा पार्टीले संस्थागत रूपमा कहिले बोल्ने ? कि अब पनि मौन बस्ने ?”
सिंहका अनुसार अहिले जनताको आक्रोश एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष र उनलाई घेरेर चलाउने समूहमाथि केन्द्रित छ । “यो यथार्थ आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य जोगाउने एक मात्र उपाय हो,” उनले बैठकमा भने ।
“सडकमा आएका युवा र विद्यार्थी प्रतिक्रान्ती होइन, जनआवाज हुन्”
सरकारविरुद्ध स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवा, विद्यार्थी र नागरिक आन्दोलनलाई प्रतिक्रान्तीका रूपमा व्याख्या गर्नु गलत भएको सिंहको भनाइ छ । “कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलनलाई प्रतिगमन भन्न मिल्दैन । यसबारे पार्टीले अझ वस्तुनिष्ठ ढंगले समीक्षा गर्न जरुरी छ,” सिंहको भनाई छ ।
जनसंगठनहरूको कमजोर व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै सिंहले अनेरास्ववियुको उदाहरण दिए । “टंक कार्कीदेखि समीक बडालसम्मका पुस्ताले गर्व गर्ने अनेरास्ववियुको अध्यक्ष एक दिन पनि टिक्न नसक्ने स्थिति आइसकेको छ । यस्तो कार्यशैलीले संगठन कमजोर बनाएको छ,” उनले टिप्पणी गरे ।
सिंहले केन्द्रीय कमिटीमा विचार अभिव्यक्तिको अवसर नदिइने प्रवृत्तिप्रति पनि आपत्ति जनाएका छन् । “चार वर्षमा ४-५ जना बाहेक कसैले तीन मिनेट पनि बोल्न नपाउने स्थिति छ । यस्तो व्यवस्थामा पदाधिकारीले बाहिर बोलेर जनतालाई भ्रममा पार्नुको अर्थ छैन,” उनले भने ।
“दुई पटक संसद विघटनपछि पुनर्स्थापनाको माग हास्यास्पद”
सिंहले पार्टीले दुई पटक आफैं संसद विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रनु ‘घृणा र हासोको पात्र’ बन्ने टिप्पणी गरे । “चुनाव बहिष्कार नीति अर्को भिडन्त निम्त्याउने योजना हो । कमजोरी सच्याउँदै चुनावमा जानेबाहेक विकल्प छैन,” उनले स्पष्ट पारे ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरेर उनलाई पार्टी कार्यमा सक्रिय बनाउन वातावरण बनाउन सिंहले माग समेत गरे ।
सिंहले प्रस्तुत गरेका प्रश्न र सुझावहरूले बैठकमा आत्मसमीक्षा र आन्तरिक लोकतन्त्रबारे नयाँ बहस सुरु गरेको देखिएको छ । उनका अनुसार पार्टीले यदि नेतृत्व-केन्द्रित सोच, सतही मूल्यांकन र जिम्मेवारीविहीन प्रवृत्तिलाई तत्काल सुधार्न सकेन भने आगामी दिनमा संगठनात्मक अस्तित्व नै संकटमा पर्नेछ ।















