३१ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको आन्तरिक सुरक्षा व्यवस्था खतरामा परेको भन्दै सुरक्षा निकायलाई तुरुन्तै एक्सनमा उत्रन निर्देशन दिएका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा बोल्दै मन्त्री अर्यालले पछिल्लो समय केही जिल्लाहरूमा देखिएका धार्मिक र साम्प्रदायिक घटनाहरू ले नेपाली समाजको आपसी सद्भाव र भाइचारा भत्काउने ुदुष्प्रयासु गरिरहेको स्पष्ट पारेका छन् । उनले यस्ता गतिविधिले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपेको भन्दै ‘बेलैमा इन्टरभेन्ट’ गरेर भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका हुन् ।
जेनजी आन्दोलनले प्रहरीमाथि पुर्याएको क्षति
गृहमन्त्री अर्यालले नागरिक असन्तुष्टिको अभिव्यक्तिको रूपमा आएको जेनजी युवा समूहको आन्दोलन मा सुरक्षा निकायले बेहोरेको क्षतिको पनि स्मरण गराएका छन् । नागरिकमा बढेको असन्तुष्टि र निराशाका कारण भदौ २३ र २४ गतेको आन्दोलन ‘अपेक्षाभन्दा फरक र हिंस्रक’ बनेको उनको भनाइ छ।
कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेको नेपाल प्रहरीले यसको ठूलो मूल्य चुकाउनुपर्यो । आन्दोलनका क्रममा तीन जना होनहार प्रहरी कर्मचारीले जीवन उत्सर्ग गरेको उनले दुःखद् रूपमा स्मरण गराएका छन् ।
प्रहरी सरकारप्रतिको धारणाको कारणले सोझै निशानामा पर्ने गरेको बताउँदै उनले न्यून साधनस्रोत भएको प्रहरीका सांगठनिक र व्यक्तिगत सामानहरू समेत लुटपाट र आगजनी हुँदा संगठनलाई ठूलो क्षति पुगेको उल्लेख गरे । यसरी, देशले एकातर्फ धार्मिक द्वन्द्वको नयाँ चुनौती र अर्कोतर्फ आन्दोलनबाट आक्रान्त सुरक्षा निकायको दोहोरो दबाब खेपिरहेको मन्त्री अर्यालको आसय छ ।















