३१ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली विरुद्धको राजीनामा अभियानले तीव्रता पाएको छ।
बैठकको तेस्रो दिन शुक्रबार केन्द्रीय सदस्य ठाकुर गैरेले समेत खुलेर ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने माग राखेपछि पार्टीभित्रको आन्तरिक दबाब उत्कर्षमा पुगेको छ। ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै गैरेले स्पष्ट शब्दमा नेतृत्वलाई चुनौती दिएका छन् ।
गैरेको यो माग एमालेभित्र अध्यक्ष ओलीविरुद्ध उठेको पछिल्लो र सशक्त आवाज हो । बैठकमा यसअघि नै केन्द्रीय सदस्य उषाकिरणले ओलीको बहिर्गमनले पार्टीलाई सकारात्मक सन्देश दिने बताइसकेकी थिइन् । उनले ओलीले बिदा लिनेबित्तिकै देशभर सकारात्मक सन्देश जाने बताएकी थिइन् । नेताहरूले ओलीको कदमको आलोचना गर्दै दुई–दुई पटक संसद् विघटन गरेर अहिले पुर्नस्थापनाका लागि आन्दोलन गर्नु हास्यास्पद भएको तर्क गरिरहेका छन् ।
एकपछि अर्को सरकार ढलेको र कम्युनिस्ट आन्दोलन कमजोर बनेको कठिन परिस्थितिमा अब नेतृत्वले गल्ती स्वीकार गरी पुस्तान्तरण र रूपान्तरण को बाटो खोल्नुपर्ने निष्कर्षमा नेताहरू पुगेको यो घटनाक्रमले देखाएको छ।















