३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको रुपान्तरण, पुस्तान्तरण र सुशासनका एजेन्डासहित व्यापक सुधार प्रस्ताव सार्वजनिक गरेका छन्। शुक्रबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा पौडेलले आफ्नो दस्तावेजीय प्रस्ताव पेश गर्दै पार्टीले अबको यात्रामा ‘डिजी युथ कंग्रेस’जस्ता संरचनागत परिवर्तन गर्नुपर्ने धारणा राखे।
पौडेलले पछिल्लो समय देशभर देखा परेको ‘जेनजी विद्रोह’लाई अविश्वासको दृष्टिले नहेरी त्यसमा उठेका मुद्दाहरु — भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी, युवा सहभागिता र आर्थिक विकास — लाई सम्बोधन गर्न कांग्रेसले अग्रसर हुनुपर्ने बताए।
“हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेको कारण यो विद्रोह भएको हो,“ उनले बैठकमा भने।
युवालाई पार्टीमा संस्थागत रूपमै जोड्ने उद्देश्यसहित पौडेलले ‘डिजी युथ कंग्रेस’ गठनको प्रस्ताव गरेका छन्। यस संरचनाबाट युवा पुस्ताको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई माथि ल्याउने योजना उनले अघि सारे। वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित गर्न नेतृत्व छनोट प्रक्रिया परिवर्तनको माग उनले उठाएका छन्।
पौडेलले खर्चिलो सरकारको संरचना फेर्नुपर्ने तर्क गर्दै प्रतिनिधिसभा सदस्य संख्या २०१ मा झार्न, मन्त्री परिषद् अधिकतम १५ सदस्यमा सीमित गर्न र प्रदेश सरकारको आकार ४०% ले घटाउने योजना प्रस्तुत गरे।
उनले जिल्ला समन्वय समिति खारेज, स्थानीय तह ४०० मा सीमित, उपाध्यक्ष÷उपप्रमुखको पद खारेज गर्नेसहितका प्रस्ताव अघि सारे।“अहिलेको सरकारको संरचना बोझिलो र जनताले थेग्न नसक्ने बनेको छ,“ पौडेलले भने।
सदस्यता प्रणालीलाई एकरूप बनाउने र क्रियाशील सदस्यबाट प्रत्यक्ष चुनावमार्फत केन्द्रदेखि जिल्ला नेतृत्व चयन गर्ने प्रक्रिया विकास गर्नुपर्ने पौडेलको भनाइ छ।२०४६ पछि कुनै पनि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने र श्रोत पुष्टि नभएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव पौडेलले अघि सारे। उनले भ्रष्टाचारविरुद्धको संघर्षमा कांग्रेसले नेतृत्व लिनुपर्ने बताए।
पार्टीभित्र देखा परेको असन्तुष्टि, देशमा मौलाउँदै गएको राजनीतिक अन्योल र युवाको आवाजलाई सम्बोधन गर्न पौडेलले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्।“११ औं महाधिवेशन ६० दिनमै सम्पन्न भएको थियो, अहिले पनि सम्भव छ, कुनै बहानामा मिति सार्नु हुँदैन,” उनले भने।
स्वास्थ्य मन्त्रीको कार्यकालमा बीमा योजनामा सुधार गरेको अनुभव प्रस्तुत गर्दै पौडेलले पार्टीको समाजवादको कार्यान्वयन स्वास्थ्य बीमा सुदृढिकरणमार्फत सम्भव हुने दाबी गरे।















