३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायको विश्वास र समर्थन जुटाउने उद्देश्यले आज सिंहदरबारमा कूटनीतिक निकायका प्रमुख तथा विदेशी राजदूतहरूलाई विशेष ब्रिफिङ गरेकी छिन् ।
प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले यस प्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् । बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्था र अन्तरिम सरकारले आगामी २१ फागुनका लागि तोकेको प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल, परामर्श र ब्रिफिङ भइरहेको छ। जेनजी आन्दोलन पछि संसद विघटन गरेर निर्वाचन घोषणा गरिएकाले प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन ठूलो चुनौती रहेको छ । यसअघि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरे पनि सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउन घनीभूत परामर्श नभएको भन्दै आलोचना भइरहेको थियो ।
यसै आलोचनाबीच प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउनुलाई निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने सरकारी प्रयासको रूपमा हेरिएको छ। बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं विदेशी राजदूतहरू सहभागी छन् ।















