Logo

३१ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि नेपाली सेयर बजारले ३ खर्ब १० अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएको छ ।

आन्दोलनको पहिलो दिन २६७२ दशमलव २५ अङ्कमा रहेको नेप्से परिसूचक बिहीबारसम्म २४८७ दशमलव १७ अङ्कमा झरेको छ, जसले लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेको छ । नयाँ सरकार गठन र निर्वाचन मिति घोषणा भइसक्दा समेत बजारले ‘बियरिस ट्रेन्ड (घट्ने प्रवृत्ति) नछोडेको भन्दै बजार विश्लेषकहरूले यसका पछाडि बहुआयामिक कारणहरू सक्रिय रहेको औंल्याएका छन्। जेनजी आन्दोलनमा व्यावसायिक संस्थाको क्षति, युवापुस्ताको नाममा देखिएको अराजक गतिविधि, र राजनीतिक दलहरू चुनावभन्दा विवादमा केन्द्रित हुँदा विश्वासको वातावरण बन्न नसक्नु लगायतका कारण बजार घटेको हो ।

बजारमा बियरिस ट्रेन्ड कायमै रहे पनि विश्लेषकहरू भने अब बजार बढ्ने आशावादी छन् । उनीहरूका अनुसार पहिलो त्रैमासिक र दशैं तिहारको प्रभाव अब सकिएको छ । बजार लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, ‘अहिले बजार तल झरिसकेकोले प्रोफिट बुक गर्ने सप्लाईको चाप छैन। अर्थ मन्त्रालय र नियामक निकाय पनि बजारमैत्री देखिएका छन्। त्यसैले अब बजार बढ्छ भन्ने अपेक्षा गर्न सकिन्छ।’


सम्बन्धित समाचार
भर्खरै