३१ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नयाँ कमाण्डरको नेतृत्वमा आएपछि जिल्लामा तस्करी नियन्त्रण, लागू औषध नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले असोज महिनाबाट कमाण्ड सम्हालेपछि सुरक्षाको अवस्था सुधारिएको देखिएको छ।
प्रहरीका अनुसार, असोज महिनामा कार्यालयमा दर्ता भएका १०५ वटा निवेदनमध्ये ८७ वटा निवेदन फछौट गरिएको छ। हराएका मानिससम्बन्धी ४३ उजुरी परेका थिए, जसमा १२ जना हराइरहेका व्यक्तिहरू फेला पारेर सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ।
यस महिनामा पर्सा प्रहरीले भन्सार राजस्व छली गरेर भित्र्याइएका करिब ७ करोड रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार, कुल ६ करोड ८७ लाख ६२ हजार ३२१ रुपैयाँ बराबरको तस्करी सामग्री नियन्त्रणमा लिइएको हो।
तस्करी नियन्त्रणसँगै लागू औषध विरुद्धको अभियानमा पनि प्रहरीले सफलता प्राप्त गरेको छ। असोज महिनामै प्रहरीले ४३ किलो ९०० ग्राम गाँजा, ११ किलो चरेस, र ३१ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको एसपी पाठकले जानकारी दिए।
अदालतबाट सजाय तोकिएर फरार रहेका ७ जना प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।
एसपी पाठकले पर्साको शान्ति सुरक्षालाई थप मजबुत बनाउने लक्ष्यसहित भन्सार चोरी–निकासी नियन्त्रणलाई प्राथमिकता दिएको बताए। उनले आफ्नो कार्यकाल सुरु भएदेखि नै मातहतका सबै इलाका प्रहरी कार्यालय इन्चार्जहरूसँग एक वर्षे लिखित कार्यसम्पादन सम्झौता गरिसकेको जनाएका छन्, जसले प्रहरी कार्यलाई थप जवाफदेही र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।
पर्सा प्रहरीले देखाएको यो सक्रियता र नतिजामूलक कामको प्रशंसा स्थानीयवासी र सरोकारवालाहरूले गर्न थालेका छन्।















