Logo

३१ असोज,वीरगञ्ज । संघीय लोकतान्त्रिक मोर्चाले मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारप्रति विश्वास व्यक्त गरेको छ। मोर्चाले संघीयता सुदृढ गर्न, सुशासन सुनिश्चित गर्न र जनताको भावना सम्बोधन गर्न नयाँ सरकार सक्षम हुने अपेक्षा गरेको छ।

संघीय सचिवालय संयोजक शिवजी यादवद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति गराउने र प्रदेशको जनता तथा जनआन्दोलनको भावना, आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी कार्य परिणाम प्रदान गर्ने विश्वास गरेका छौँ।“

विज्ञप्तिमा मोर्चाका सबै घटक दलहरू आगामी दिनमा आपसी एकता, समन्वय र साझा प्रतिबद्धतासहित अघि बढ्ने प्रतिबद्धतासमेत गरिएको छ।

मुख्यमन्त्री सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता हुन्। उनी संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध सबै दलहरूको समर्थनमा मधेस प्रदेशको नेतृत्वमा आएका हुन्।

सोनल नेतृत्वको सरकारलाई मोर्चाभित्र नपर्ने जनमत पार्टीले पनि समर्थन जनाइसकेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीको समर्थनसँगै सरकारलाई प्रदेशसभामा अझ मजबुत आधार मिलेको छ।

नयाँ सरकार गठनसँगै मधेस प्रदेशमा राजनीतिक स्थायित्व र संघीयताको प्रभावकारी कार्यान्वयन प्रतिको अपेक्षा बलियो रूपमा उठेको छ।


सम्बन्धित समाचार
भर्खरै