१ कार्तिक, वीरगञ्ज । आपराधिक लाभ (ठगी) सम्बन्धी मुद्दाका आरोपी सर्लाहीका संजय कुमार ठाकुरलाई जग्गा कारोबारका लागि बारेसनामासहितको अधिकार प्रत्यायोजन दिने व्यक्तिलाई प्रहरीमा उपस्थित गराउने शर्तमा तारेखमा छोडिएको पर्सा प्रहरीले जनाएको छ।
महानगरपालिकाका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ठाकुरलाई स्काईलाइन महलमा किचलो मुद्दा खडा गर्ने वीरगञ्ज छपकैयाकी निखत परविन अंसारीलाई कार्तिक १० गतेभित्र प्रहरी कार्यालयमा उपस्थित गराउने शर्तमा तारेखमा छोडिएको प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले बताए।
शुरुका केही दिन दैनिक जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा छोडिएको थियो, प्रहरी उपरीक्षक पाठकले भने, “दीपावली र छठ पर्वलाई ध्यानमा राख्दै कार्तिक १० सम्मको समय दिएको हो। निखत परविन अंसारी भारतमा बस्दै आएको र उनलाई वीरगञ्जमा ल्याउन केही दिन लाग्ने भनेकाले ठाकुरलाई कार्तिक १० गतेको ‘डेटलाइन’ दिइएको एसपी पाठकले बताए।
एसपी पाठकका अनुसार, ठाकुरको गतिविधि र उसले उठाउने गरेका विषयले उनी शंकाको घेराभित्र देखिन्छन्। उनले कार्तिक १० गतेभित्र स्काईलाइन महलसँग जोडिएको विषयमा सरोकार राख्ने जग्गाधनी भनिएकी निखत परविन अंसारीलाई उपस्थित गराउन नसकेको खण्डमा उनलाई कानुन बमोजिम कारवाही हुने प्रहरी उपरीक्षक पाठकको भनाई छ।
प्रहरी उपरीक्षक पाठकले भने, “वीरगञ्ज महानगरपालिकाको विषय मात्र भएकोले त्यस दिन तारेखमा छोडिएको हो ।” आपराधिक लाभ ९ठगी० सम्बन्धी उनको विरुद्ध मुद्दा दर्ता भएको विषय पछि मात्र जानकारी भयो पाठकले भने । कार्यालय प्रमुख सरुवा भएको केही दिनपछि दर्ता भएका केसहरू छन्, तिनलाई अध्ययन गरेपछि मात्र के गर्ने भन्ने निर्णयमा पुग्न सकिने एसपी पाठकको तर्क थियो।
ठगीको मुद्दा र पक्राउ आदेश
संजय ठाकुर विरुद्ध आदर्शनगरका १६ जना जग्गाधनीले आपराधिक लाभ लिने उद्देश्यले कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असोज ३ गते ठगीको मुद्दा दर्ता गराएका छन्।
उक्त मुद्दाको विषयमा व्यापक अध्ययन गर्नुपर्ने भएकोले तत्काल पक्राउ आदेश माग्न नसकिने पाठकले बताए। दशैं बिदाको समयमा आदेश मागिएको रहेछ, तर त्यो बेला पक्राउ अनुमति अदालतबाट नआएको एसपी पाठकले जानकारी दिए।
उद्योग वाणिज्य संघको भूमिका शंकास्पद
वीरगञ्जमा रहेको अधिकांश विवादित जग्गासम्बन्धी मुद्दामा बारेस रहँदै आएका विवादित व्यक्ति संजय कुमार ठाकुरलाई छुटाउन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सहजीकरण गरेको प्रहरीको भनाई छ।
वीरगञ्ज महानगरपालिकाले संजय कुमार ठाकुरमाथि अनुसन्धान गरी कारवाही गर्न लिखित निवेदनसहित प्रहरीलाई आग्रह गरेको थियो। तर, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम ठाकुरलाई छुटाउन प्रहरी उपरीक्षक पाठकलाई गुहार्न पुगेको एक प्रत्यक्षदर्शीले बताए। उनले ठाकुरलाई सामान्य तारेखमा छोड्न प्रहरीलाई अनुरोध गरेका थिए, प्रत्यक्षदर्शीले भने।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पनि ठाकुरलाई छुटाउन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम आफूलाई भेट्न आएको बताएका छन्। एसपी पाठकलाई भेट्न उनकै च्याम्बरमा पुगेका वीरगञ्जका केही युवा उद्यमीहरूलाई प्रहरी उपरीक्षक पाठकले भने ूवीरगञ्ज महानगरपालिकाले कारवाही गर भन्छ, उद्योग वाणिज्य संघका अध्यक्षले छोड्नुपर्छ भन्छन्, मैले त केही बुझ्न सकेको छैन,ू एसपीको भनाई उदृत गर्दे एक व्यवसायीले रेसखवरलाई भने ।
वीरगञ्जको आदर्शनगरस्थित स्काईलाइन महल, एनआईसी एशिया बैंक, नबिल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, पूजन होटल, कन्टिइन होटल, सरोवर होटल लगायत विभिन्न व्यक्तिको घरजग्गामा किचलो खडा गर्ने केडिया ग्रुपका प्रदीप केडिया र विचौलियाको काम गर्ने संजय कुमार ठाकुरलाई कानुनी कारवाहीबाट जोगाउन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लाग्नु दुःखद कुरा भएको आदर्शनगरका एक पीडित व्यवसायीले रेसखवरलाई बताए।
उद्योग वाणिज्य संघको अध्यक्षजस्तो गरिमामय पदमा बसेको व्यक्ति उद्योगी व्यवसायीलाई दुःख दिँदै हिँड्ने समूहको पक्षमा लाग्नुले उहाँको नियतमाथि शंका पैदा भएको ती व्यवसायीको भनाई छ।
यता वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले आफू विचौलियालाई जोगाउन नगएको बताएका छन्। आफ्नो व्यक्तिगत कामले ूएसपी साहेवलाई भेट्न पुगेको थिएँ, त्यहाँ नगरपालिकाका केही कर्मचारीलाई देखेँ, अध्यक्ष गौतमले भने, “धेरै भीडभाड भएकोले पछि भेटौँला भनेर प्रहरी कार्यालयबाट निस्केको हुँ।
उनले अघिल्लो एसपी गौतम मिश्रको समयमा भने प्रदीप केडियाको विषयमा कुरा गर्न गएको स्वीकारेका छन्। केडियाको जग्गा लफडामा केही व्यक्तिका विरुद्ध उजुरी लिएर गएका रहेछन्, त्यतिबेला भने आफू उपस्थित रहेको गौतमको भनाई छ। ूत्यतिबेला पनि मैले कसैको पक्षमा वकालत गरिनँ, गौतमले भने।
को हुन निखत प्रविण अंसारी ?
वीरगञ्ज महानगरपालिका वडा नंं ४ निवासी अब्दुल गनी अंसारीकी छोरी हुन निखत परविन अंसारी । उनको विवाह भारतको मोतियारीमा भएको छ । भारतमा विवाह भएकोले अहिले उनी भारतीय नागरिक हुन । विवाह पूर्व निकालेको नागरिकताको दुरुपयोग गर्दै उनले विभिन्न व्यक्तिको जग्गा आफ्नो भएको भन्दै विवाद खडा गरेको देखिन्छ । कुनै कानूनी निकायले उनको हक दावी कायम गरेको देखिदैन ।
केही बर्ष अघि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लगेपछि वीरगञ्ज छोडेर भागेकी निखत परविन अंसारी भारतमै बस्ने गरेकी छन् । उनी वीरगञ्जमा आउदा समेत लुकेर आउने गरेको उनलाई चिन्ने छपकैयाका एक स्थानीयले बताए । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी रहेका अब्दुल गनी अंसारी पनि भारतमै बस्ने गरेका छन् ।

















