Logo

१ कात्तिक, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ।

स्थानीयका अनुसार बिहान करिब ५ बजे उद्योगमा आगलागी सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

उद्योग सञ्चालक श्रीराम गुप्ताका अनुसार आगलागीले उद्योगमा भण्डारण गरिएका अगरबत्ती, धूप, पूजा सामग्री, तेल, नगद, मेशिन, कम्प्युटर, सिसिटिभी क्यामेरा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २ करोड ३२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाहरूको सक्रिय सहयोग रहेको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले बताए।

आगलागी बिहान करिब ८ बजेतिर मात्र पूर्णरूपमा नियन्त्रणमा आएको स्थानीय रामदयाल गुप्ताले जानकारी दिए।

यस घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय सुरक्षाकर्मीहरूले जनाएका छन्।


सम्बन्धित समाचार