Logo

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा भाग नलिने घोषणाप्रति असन्तुष्टि जनाएका छन्।

शनिबार शीतलनिवासमा आयोजित बौद्धिक समुदायका अगुवाहरूसँगको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीको घोषणाप्रति असन्तोष व्यक्त गरेका हुन्।

‘एमालेको भूमिकाबारे छलफल भयो,’ कार्यक्रममा सहभागी एक अगुवाले बताए, ‘राष्ट्रपति ओलीको निर्णयबाट सन्तुष्ट देखिनुभएन।’

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्दै आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए।

छलफलमा सहभागी अर्का अगुवाका अनुसार, राष्ट्रपतिले ओलीबाहेकका एमाले नेताहरू निर्वाचनमा जानुपर्ने पक्षमा रहेको बताए। ‘उहाँ (राष्ट्रपति) ले एमालेका अन्य नेताहरूले निर्वाचनमै जानुपर्ने धारणा राखेको सुनाउनुभयो,’ ती अगुवाले जानकारी दिए।

छलफलको क्रममा राष्ट्रपति पौडेलले आफूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा अध्यक्ष ओलीकै सिफारिसमा भएको उल्लेख गरेका थिए।

राष्ट्रपति पौडेलको यो असन्तुष्टि राजनीतिक वृत्तमा थप बहसको विषय बन्ने देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै