१ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९, रानीटारमा बोलेरो जीप विद्युतको पोलमा ठोक्किँदा विद्युत सेवा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ९:३० बजे अनियन्त्रित जीप ११ मिटर अग्लो सिमेन्टको पोलमा ठोक्किएपछि पोल भाँचिएर रानीटार क्षेत्रमा विद्युत आपूर्ति पूर्णरूपमा बन्द भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणका प्राविधिक कमल चौलागाईंका अनुसार उक्त पोल मेलम्ची फिडर अन्तर्गत पर्दछ र पोल भाँचिएपछि मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति रोकिएको हो।
विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दा र व्यवसायीहरू दैनिक क्रियाकलापमा प्रभावित भएका छन्। प्राधिकरणले तत्काल मर्मत सम्भारको काम सुरु गरिसकेको जनाउँदै, झन्डै ३ देखि ४ घण्टाभित्र सेवा पुनः सुचारु हुने अपेक्षा व्यक्त गरेको छ।
विद्युत प्राधिकरणले मर्मत कार्यमा सहजता र सहकार्यका लागि स्थानीयहरूलाई धैर्य गर्न आग्रहसमेत गरेको छ।















