१ कात्तिक,काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ। सन् २०१९ सेप्टेम्बर १० (विसं २०७६ भदौ २४) मा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइन उद्घाटन भएसँगै हालसम्म ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ।
नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका अनुसार अहिलेसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल पाइपलाइनमार्फत भित्रिएको छ।
पाइपलाइनमार्फत पहिलोपटक डिजेल आयात सुरु गरिएको थियो। पछिल्लो चरणमा पेट्रोल २०८१ असोज २४ गतेदेखि र मट्टितेल २०८१ मङ्सिर १९ गतेदेखि आयात सुरु भएको हो।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन
६९.२ किलोमिटर लम्बाइको यो मल्टी–प्रोडक्ट पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो, जसमा भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ।
यो परियोजनाले नेपाललाई डिजेल, पेट्रोल र मट्टितेल तीनवटै इन्धन आयात गर्न सक्षम बनाएको छ। अमलेखगञ्जस्थित डिपोबाट काठमाडौं, वीरगञ्ज, पोखरा, विराटनगर, जनकपुर, भैरहवा लगायतका मुख्य डिपोहरूसम्म इन्धन आपूर्ति भइरहेको छ।
प्रादेशिक प्रमुख प्रलयंकर आचार्यका अनुसार, “नेपालको कुल पेट्रोलियम मागमध्ये करिब ७० प्रतिशत इन्धन अमलेखगञ्ज डिपोबाटै आपूर्ति भइरहेको छ।”
ढुवानी खर्चमा वर्षेनि ३ अर्बको बचत
पाइपलाइन सञ्चालनपछि इन्धन ढुवानीका लागि प्रयोग हुने ट्याङ्करको संख्यामा उल्लेखनीय गिरावट आएको छ। यसले सडक दुर्घटना, चोरी, मिसावट तथा ढुवानीसम्बन्धी अन्य जोखिमहरू हटाएको छ। साथै, ढुवानी खर्चमा वर्षेनि ३ अर्ब रुपैयाँको बचत भएको निगमको दाबी छ।
यसले उपभोक्तालाई आपूर्ति लागत घटाएर सस्तो दरमा इन्धन वितरण गर्न मद्दत पुगेको हो।
पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत अमलेखगञ्ज डिपोमा भण्डारण संरचना विस्तार गर्दै अत्याधुनिक प्रविधियुक्त ट्याङ्क तथा प्रणालीहरू निर्माण गरिएको छ।हाल अमलेखगञ्जमा १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र २,२७० किलोलिटर मट्टितेल भण्डारण गर्न सकिने क्षमता रहेको छ।
नयाँ संरचना थपिएपछि कुल भण्डारण क्षमता ९४ हजार किलोलिटर पुगेको छ।
नेपाल आयल निगमले हालै अमलेखगञ्ज–लोथर (चितवन) पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरिसकेको छ। ६२ किलोमिटर लामो यो पाइपलाइन पूर्वपश्चिम राजमार्गसँगै समानान्तर रूपमा बिछ्याइनेछ।
यस परियोजना अन्तर्गत २३ विघा १२ कठ्ठा क्षेत्रफलमा लोथरमा अत्याधुनिक ‘ग्रीन फिल्ड टर्मिनल’ निर्माण गरिनेछ।
लोथर टर्मिनलमा ९१ हजार ९०० किलोलिटर इन्धन भण्डारण गर्न सकिने क्षमता रहनेछ।यसमा ११ हजार किलोलिटर पेट्रोल, १५ हजार ५०० किलोलिटर डिजेल, ८ सय किलोलिटर मट्टितेल र ३ हजार ६०० किलोलिटर हवाई इन्धन भण्डारणका लागि ट्याङ्क निर्माण गरिनेछ।
पाइपलाइनसहित टर्मिनलको कुल लागत अनुमानित १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ हुनेछ। परियोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।यसैबीच, भारतको सिलगुडीदेखि नेपालका लागि चारआली (झापा) पाइपलाइन निर्माण कार्य पनि प्राथमिकतामा परेको छ। सरकारद्वारा घोषित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू अन्तर्गत यो परियोजना अगाडि बढाइएको छ।
पछिल्लो ६ वर्षको अवधिमा नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाले नेपालको इन्धन आपूर्ति प्रणालीमा आमूल परिवर्तन ल्याएको छ। ढुवानी लागतमा कटौती, आपूर्ति सहजता, भण्डारण क्षमतामा वृद्धि र वातावरणीय जोखिम न्यूनीकरणजस्ता सकारात्मक परिणाम देखिएको पाइपलाइनको विस्तार र भविष्यका योजनाहरू अझ प्रभावकारी हुने संकेत देखिएको छ।















