Logo

१ कात्तिक,काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुंगानाले आफ्नो समूहले अब औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गर्न लागेको बताएका हुन्।

ढुंगानाले भने, “हामी चुनावका लागि मात्र पार्टी खोल्दैछौं भन्ने होइन। भिडले देश विकास गर्दैन, अब या त एनजिओ खोल्नुपर्छ, या राजनीतिक दल। त्यसैले आन्दोलनलाई संस्थागत गर्दै अघि बढ्न हामीले दल खोल्ने निर्णय गरेका हौं।”

उनले आफूहरूको मुख्य एजेन्डा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ रहेको दोहोर्याउँदै, बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने स्पष्ट पारे। “हाम्रो बटमलाइन स्पष्ट छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली। यो मुद्दा गम्भीर रूपमा उठ्नुपर्छ,” उनले भने।

ढुंगानाले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्ने अधिकार सुनिश्चित गरिनुपर्ने माग पनि राखे। साथै, भ्रष्टाचार अन्त्यका लागि नागरिकस्तरबाट स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारे।

उनले जेनजी पुस्तालाई एकजुट हुन आह्वान गर्दै भने, “अब परिवर्तनका लागि संगठित हुने समय आएको छ। जेनजीहरूले देश बदल्न जिम्मेवारी लिनुपर्छ।”

यो घोषणासँगै अब जेनजी आन्दोलनले नयाँ राजनीतिक यात्रा आरम्भ गर्ने संकेत देखिएको छ। पार्टीको नाम, संरचना र विस्तृत योजनाबारे चाँडै सार्वजनिक गरिने जानकारी पनि ढुंगानाले दिएका छन्।


सम्बन्धित समाचार