वीरगञ्जस्थित पब्लिक फिटनेस सेन्टर (PFC) मा बिहीबार आयोजित डेडलिफ्ट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ तहका ४० जना खेलाडीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा वरिष्ठ समूहका अभिषेक सारर्फ प्रथम, चन्दन गुप्ता द्वितीय र बरमा यादव तृतीय भएका छन्। विजेताहरूलाई नगद पुरस्कारसहित प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रथम विजेतालाई ७५०० रुपैयाँ, द्वितीयलाई ५००० र तृतीयलाई ३५०० रुपैयाँ नगद सहित अन्य पुरस्कार दिइयो। सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा निर्णायकको भूमिकामा आशिफ अन्सारी, खालिद हुसेन, अकलेस पटेल, विशाल यादव, सुमित पटेल र अरुण साह रहेका थिए।कार्यक्रम संस्थापक अध्यक्ष करण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिवनाथ यादवले गरेका थिए।
प्रदेश सभा सदस्य रहबर अन्सारी प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए। उनले स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यस्तो प्रतियोगिताले खेलकुद र युवा सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
कार्यक्रममा भारतोलन संघका कोषाध्यक्ष सुनिता अग्रवाल, स्वास्थ्यकर्मी समाजसेवी करन पटेल, सुवाश गुप्ता र स्ववियु सदस्य माला साह, साथै Galaxy Fitness सेन्टरका प्रशिक्षक सुमित पनि विशेष अतिथि थिए।

















