१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई “म्याद नभएको म्यादी सरकार” को संज्ञा दिएका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको वैधानिकता र स्थायित्वप्रति गम्भीर प्रश्न उठाएका हुन्।
“यो एउटा भुल्को हो,” ओलीले भने, “यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो। यो रहन्छ भन्ने भ्रम त्याग्नुपर्छ। यसको कुनै जग छैन। यसो हल्लाउँदा हल्लिने सरकार हो।”
ओलीले अघिल्ला स्थिर सरकारहरूलाई समेत बलजफ्ती ढालिएको उल्लेख गर्दै वर्तमान सरकार ‘जगै नभएको’ भन्दै आलोचना गरे।
“कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने, यो त जगै नभएको, हल्लिँदा पुक्लुक्क हुने सरकार हो,” उनले भने, “अनि यो सरकारका यत्रा धाकधम्की?”
कार्यक्रममा ओलीले राष्ट्रियता र स्वाभिमानको विषयमा पनि धारणा राख्दै “जेनजीहरूले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने काम गरेका होइनन्” भन्दै त्यसप्रकारका गतिविधि जेनजीहरूको कार्यशैलीमा नपर्ने दाबी गरे।















