Logo

१ कात्तिक,वीरगञ्ज । पर्सा र बारामा जिल्लामा हैजाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा अघि बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले खोप लिइसकेका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, बारा र पर्सा जिल्लामा कूल १० लाख १८ हजार ६० जनालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिएको हो। तीमध्ये हालसम्म ७ लाख २३ हजार ८३६ जनाले खोप लिइसकेका छन्।

पर्सा जिल्लामा असोज २६ गतेदेखि सुरू गरिएको अभियानको छैटौं दिनसम्म ६ लाख ५२ हजार १२९ लक्षितमध्ये ४ लाख ५६ हजार ७७८ जनाले खोप लिएका छन्। यस्तै, बारामा असोज २७ गतेदेखि सुरू गरिएको अभियानमा ३ लाख ६५ हजार ९३१ जनालाई लक्षित गरिएकोमा २ लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन्।

हैजा महामारीको रोकथाम तथा नियन्त्रणका लागि पर्साका सबै पालिकामा र पर्सासँग सीमा जोडिएका बाराका ६ वटा पालिकामा अभियान सञ्चालन गरिएको हो। खोप अभियान भोलिसम्म चल्ने जानकारी डा. गौतमले दिनुभयो।

स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई खोप लगाउन थप प्रोत्साहित गर्न र बाँकी लक्षित जनसङ्ख्यामा खोप पहुँच पुर्‍याउन अभियानलाई तीव्रता दिइरहेको जनाएको छ।


सम्बन्धित समाचार