Logo

२ कात्तिक,वीरगञ्ज । पर्सा जिल्लामा दुई महिनाअघि फैलिएको हैजा महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरूको समीक्षा आइतबार वीरगञ्जमा गरिएको छ। स्टार्ट फण्ड नेटवर्कको सहयोग र एमडीएमको सहकार्यमा आसमान नेपालले सरोकारवालाहरूसँग छलफल कार्यक्रम आयोजना गर्दै महामारी नियन्त्रणमा उठाइएका कदमबारे पुनरावलोकन गरेको हो।

छलफल कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले हैजा देखिएको दुई महिना बितिसक्दा पनि यसको श्रोत अझैसम्म पत्ता नलाग्नु चिन्ताजनक र दुर्भाग्यपूर्ण रहेको बताएका छन्। सुरुमा वीरगन्ज महानगरमा देखिएको संक्रमण क्रमशः जिल्लाका अन्य पालिकाहरूमा पनि फैलिएको थियो।

समीक्षामा सहभागी सरोकारवालाहरूले सरकारी तथा गैरसरकारी निकायहरूबाट सञ्चालित जनचेतनामूलक कार्यक्रमहरूलाई कम्तीमा आगामी दुई–तीन महिना निरन्तरता दिन सुझाव दिएका छन्। अहिले पनि अस्पतालमा झाडापखालाका बिरामीहरू आउने क्रम नरोकिएको हुँदा हैजा पूर्णरूपमा अन्त्य नभएको उनीहरूको भनाइ छ।

सहमति र असन्तोष एउटै मंचमा

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले समीक्षा बैठकमा सरोकारवाला संस्थाका प्रमुखहरू स्वयं नआएर प्रतिनिधि पठाएकोमा असन्तोष व्यक्त गरे। एनजीओसीसी पर्साका अध्यक्ष इब्राहिम देवानले हैजा नियन्त्रण प्रयासमा सरोकारवाला संस्थाबीच समन्वयको कमी देखिएको टिप्पणी गरे।

स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले आसमान नेपालले समुदायमै ४५ दिनसम्म सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रम प्रभावकारी देखिएको बताए।

वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले महामारी नियन्त्रणतर्फ अग्रसर भए पनि अहिलेसम्म हैजाको श्रोत पत्ता नलाग्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले अझै पनि केही वडाहरूमा डि–बोरिङका पाइपहरू नालाभित्रै रहेको र यसले भविष्यमा महामारी पुनः फैलिन सक्ने जोखिम कायमै रहेको बताए।

महानगरबाट वडास्तरमा बजेट खर्च गर्ने अधिकार नदिएकाले महामारी नियन्त्रणमा कठिनाइ भोग्नु परेको भन्दै उनले वडा कार्यालयहरूको सक्रियतामा अवरोध भएको गुनासो गरे।

समीक्षा कार्यक्रममा नारायणी अस्पतालकी नर्सिङ प्रमुख श्रुती साह, वीरगञ्ज महानगरपालिकाबाट प्रतिज्ञा बैद्य, स्वास्थ्य शाखा प्रमुख राजु साह, वडा नम्बर १७ का अध्यक्ष सञ्जु छत्कुली, वडा नम्बर २३ का अध्यक्ष अवधकिशोर कुशवाहा, आसमान नेपालका फोकल पर्सन धर्मेन्द्र चौरसिया, कार्यक्रम अधिकृत निरञ्जन यादव, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुधन नेपाल, र वडा नं. १७, २०, २३ र २५ का स्वास्थ्य चौकी प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत सरोकारवाला निकायहरूबीच समन्वयलाई थप मजबुत बनाउँदै दीर्घकालीन रणनीतिसहित महामारी नियन्त्रण र पुनः संक्रमणको जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।


सम्बन्धित समाचार