२ कात्तिक,ठोरी । पर्साकै ग्रामीण क्षेत्रको सर्वाधिक धनराशीको फूटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । आइतबार आयोजक प्रतिभा युवा क्लबले साविक विजेता बिरगंज युनाइटेडलाई ट्राइबेकरमा पराजित गरेपछि फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । शनिबार आयोजक र युनाइटेडबिच सम्पन्न सेमी फाइनलको दोस्रो खेल निर्धारित समयमा दुबै टिमबाट २-२ को बराबरी गोल भएपछि ट्राइबेकरमा गएको थियो । समय अभावका कारण शनिबार ट्राइबेकर सम्पन्न हुन नसकेपछि आइतबार बिहान खेल सुचारु गरिएको आयोजकले जनाएको छ ।
यस अघि शुक्रवार हनामी बिएफसी भरतपुरले रेगल मकवानपुर हेटौंडालाई सेमिफाइनलको पहिलो खेलमा पराजित गर्दै आयोजकसंगको भेट पक्का गरेको थियो । आगामी कार्तिक ४ गते मङ्गलबारका दिन आयोजक प्रतिभा युवा क्लब र हनामी बिएफसी भरतपुर चौथो ठोरी गोल्डकपको उपाधीका लागि भिड्ने छन्।
ठोरी -४ को विजयवस्ती खेल मैदानमा बितेको असोज १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालमा चितवन , मकवानपुर , सर्लाही , झापा , बारा र पर्साका कुल १६ टिमको सहभागी थिए।
प्रतियोगिताको विजेताले रु ३ लाख ५० हजार र उपविजेताले १ लाख ७५ हजार नगदसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।
खेल आयोजक समितिका संयोजक गोपी श्रेष्ठको अध्यक्षतामा समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो संस्करणको प्रतियोगिताको ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए।

















