२ कात्र्तिक, काठमाडौं । इजरायल र गाजाको द्वन्द्वका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार काठमाडौँ आइपुग्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको पार्थिव शरीर बोकेको फ्लाइ दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ः३५ बजे अवतरण गर्ने तालिका रहेको छ । विमानस्थलमा पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र हस्तान्तरणका लागि सम्पूर्ण तयारी पूरा भएको भुलले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीबाट श्रद्धाञ्जली र अन्तिम बिदाइको व्यवस्था
जोशीको शव काठमाडौँ आइपुगेपछि सरकारले उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली सेनाको नं १४ बाहिनी मुख्यालयमा पुग्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, र नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि श्रद्धाञ्जली समारोहमा सहभागी हुनेछन्।
धनगढी हुँदै महेन्द्रनगर पठाइने
काठमाडौँमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको विशेष पहलमा जन्मथलो कञ्चनपुर पठाइनेछ। नेपाली सेनाको उच्च स्रोतका अनुसार, विपिन जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको विमान मार्फत धनगढी विमानस्थल पुर्याइनेछ।
धनगढीबाट सेनाले एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र औपचारिक रूपमा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। विपिन जोशीलाई सम्मानका साथ अन्तिम बिदाइ गर्नका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी मिलाएको छ।

















