२ कात्तिक,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरी पन्तले वीरगञ्ज उद्योग वाणिज्य संघले स्थानीय व्यापारी र उद्यमीहरूको हक र हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटस लेख्दै पन्तले संघको कार्यशैलीमाथि तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, “कुनै पनि व्यवसायीलाई नीतिगत वा व्यवसायिक अप्ठ्यारो परेको बेलामा शसक्त ढंगले उभिनु नै उद्योग वाणिज्य संघको पहिलो कर्तव्य हो। उस्तै घटनामा जनकपुर उद्योग वाणिज्य संघले कडा आवाज उठाउँदा वीरगंज उद्योग वाणिज्य संघ भने मौन, निरिह र निष्क्रिय देखिन्छ।”
पन्तले वीरगञ्ज उद्योग वाणिज्य संघमाथि आन्तरिक कार्टेलिङ्गको आरोपसमेत लगाएका छन्। उनका अनुसार संघमा सीमित व्यक्तिहरू— अध्यक्ष, उपाध्यक्ष जस्ता पदहरूमा पुग्न व्यवस्थितरूपमा आम व्यवसायीलाई रोक लगाइएको छ।
उनले खुलासा गरेका छन् कि वीरगंजका करिब ९५ प्रतिशत व्यवसायीहरू संघको सदस्यता लिनबाट वञ्चित छन्, र कतिपय व्यवसायीले सदस्यता लिन आवेदन दिँदा बुझाएको रकमसमेत अझै फिर्ता नपाएको गुनासो गरेका छन्।
पन्तको भनाइमा, संघले व्यापारीहरूको साझा संस्था बन्नुको सट्टा, केही निश्चित व्यक्तिको पहुँच र स्वार्थको साधन बन्न पुगेको छ।
व्यापारीका अधिकार र व्यवसायिक सहजताका सवालमा वीरगंज उद्योग वाणिज्य संघले बोल्न नसक्ने अवस्था देखिएको भन्दै उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।















