३ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ देशभर धन, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा-आराधना गरिँदैछ।
कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ, जसका अवसरमा घरघरमा दीपावली गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
धार्मिक विश्वास अनुसार, सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् । त्यसैले बिहानैदेखि घरमा सरसफाइ, रंगरोगन, दीप-सजावट र फूलमालाले झिलीमिली पार्ने परम्परा आज पनि निरन्तर छ।
लक्ष्मीपूजाका लागि साँझ आँगनदेखि मूलढोकासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीका पाइला कोर्ने परम्परा छ।
पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्वलन गरी लक्ष्मी आउने बाटो देखाइन्छ।
पूजाको समयमा गणेश, कलश र लक्ष्मीको स्थापना गरेर सुनचाँदीका गरगहना, नगद, धान, चामल, फलफूल, सेलरोटी र फूलमालाले आराधना गरिन्छ ।
लक्ष्मीपूजा पछि छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन रहेको छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार सन्ध्याकालमा पूजा गरी मध्यरातमा नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मीको आगमन होस्’ भन्ने शास्त्रीय विधि पालना गरिन्छ ।
लक्ष्मीपूजाको अवसरमा आज साँझ शहर बजारदेखि गाउँसम्म दीपावली र उज्यालोको रौनक फैलिएको छ। वीरगञ्ज, काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशका प्रमुख शहरहरूमा घर, पसल र सडकहरू बत्ती र फूलमालाले झिलिमिली बनेका छन् ।
भैलोको उल्लास
आज साँझ युवतीहरूले समूह बनाई घरघरमा भैलो खेल्ने परम्परा छ । भगवान् विष्णुले बलिराजालाई स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा शासन गर्ने वरदान दिएको सम्झनामा “भलो होस्” भनी गाइने गीत समयक्रममा “भैलो” बनेको विश्वास छ । भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूलमाला र सेलरोटी दिने चलन छ, जसलाई कात्तिकको दान भनिन्छ।
कुकुर तिहार पनि आजै

यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार पनि आज तेस्रो दिनमै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोकमा बाटो छोडिदिने विश्वास रहँदै आएको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गारोहणमा साथ दिएको धार्मिक कथा पनि यस पर्वसँग जोडिएको छ।
कुकुरलाई आज्ञापालक, सुरक्षामा भरपर्दो र निष्ठावान जनावरका रूपमा सम्मान गर्ने तिहारको यो दिन करुणा र विश्वासको प्रतीक मानिन्छ ।
आज बिहानै नरक चतुर्दशीमा स्नान, तर्पण र यमदीप बगाउने चलन रहँदै आएको छ। यस विधिबाट मृत्युपश्चात् नरक दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ। धर्मशास्त्रविद्हरूका अनुसार, बत्ती बालेर बगाउने परम्परालाई “नरके बगाउने” भनिन्छ।
यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने आयुर्वेदिक परम्परा छ। आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार यसरी तेल स्नान गर्दा शरीर स्वस्थ रहन्छ, र तिहारलाई स्वास्थ्य–सुरक्षाको दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
















