Logo

३ कार्तिक, काठमाडौँ । दुई वर्षअघि हमासको कब्जामा परी मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको पार्थिव शरीर आज नेपाल आइपुग्दै छ । इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत जोशीको शव काठमाडौँ पठाएको हो ।

आइतबार शव पठाउनुअघि इजरायलको राजधानी तेलअभिभमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा इजरायली सरकारी अधिकारी, नेपालका लागि इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधि, नेपाली समुदायका सदस्यहरू तथा जोशी कार्यरत रहेको किबुज आलुमिमका बासिन्दाहरूले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार, जोशीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो करिब २ बजे आइपुग्नेछ। विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा सरकारी सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम तय गरिएको छ ।

काठमाडौँमा औपचारिक कार्यक्रम सम्पन्न भएपछि जोशीको पार्थिव शरीर नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यहाँ उनका परिवार र स्थानीय समुदायको उपस्थितिमा अन्तिम संस्कार गरिनेछ ।

२०२३ अक्टोबरमा हमासले दक्षिण इजरायलको आलुमिम किबुजमा गरेको आक्रमणका क्रममा किबुजमा कार्यरत नेपाली विद्यार्थीहरूको एक समूहमाथि हमला भएको थियो।

सोही घटनामा सात नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी हमासद्वारा अपहरणमा परेका थिए । दुई वर्षसम्मको प्रयासपछि इजरायली सुरक्षाबलले जोशीको मृत्युको पुष्टि गर्दै उनको शव उद्धार गरेको हो ।

सरकारले जोशीको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, “विपिन जोशीले काम र अध्ययन दुबैमा उत्कृष्ट योगदान दिएका थिए। उनको बलिदानले नेपाल–इजरायल सम्बन्धलाई अझ गहिरो मानवीय सम्बन्धमा बाँधेको छ।”


सम्बन्धित समाचार