४ कार्तिक, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले वीरगञ्जका विभिन्न क्यासिनोमा करीब रु ६ करोड रुपैयाँ जुवामा हारेका छन् । ठूलो रकम गुमाएपछि उनी अहिले विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न दबाबमा परेका छन् भने सेढवास्थित आफ्नै खेत बिक्रीमा राखी ग्राहक खोज्दै हिँडेको स्थानीयवासीहरूले बताएका छन्।
वीरगञ्जमा सञ्चालनमा रहेका किङ्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब लगायतका क्यासिनोहरूमा नेपाली नागरिकको निर्बाध प्रवेश भइरहेको खुलेको छ। यी क्यासिनोहरूले दीपावलीको अवसरमा विशेष छुट, बोनस र मनोरञ्जनात्मक अफर सार्वजनिक गरेपछि स्थानीय युवादेखि अगुवा तहका व्यक्तिसम्म जुवाको मोहमा फस्ने क्रम बढेको देखिएको छ।
पर्साका लक्ष्मनवा, पिपरा र नगवा क्षेत्रका सयौँ युवाहरू जुवाको कुलतमा फसेर घरजग्गा गुमाउने अवस्थामा पुगेका छन्। स्थानीय समाजसेवीहरूले यसलाई सामाजिक संकटको प्रारम्भ भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्रोतका अनुसार, पछिल्ला दिनमा वीरगञ्जका क्यासिनोहरूमा बाराका कलैया, रौतहटको गौर, मकवानपुरको हेटौँडा र चन्द्रनिगाहपुर क्षेत्रका व्यक्ति पनि नियमित रूपमा जुवा खेल्न आउने गरेका छन्।
दीपावली र छठ पर्वको अवसरमा सडकमा सुरक्षा फोर्स तैनाथ भएर व्यस्त रहँदा क्यासिनोहरूमा भने भित्रभित्रै भीड बढेको देखिएको छ । वीरगञ्जका किङ्स, फर्चुन सिटी, सुरज, दियालो र क्लार्क (मिनी जुवाघर) लगायतका क्यासिनोहरूमा पछिल्ला तीन दिनदेखि लगभग सबै टेबल भरिभराउ भएका छन् ।
क्यासिनो सञ्चालकहरूले यस अवसरमा “स्पेशल तिहार अफर” भन्दै विभिन्न आकर्षक योजनाहरू ल्याएका छन्, जसका कारण विदेशी मात्र होइन, नेपाली धनी घरानाका सदस्यहरू पनि जुवामा हार्दै जाने क्रम बढेको स्थानीय स्रोतले जनाएका छन्।
हालै पर्सामा नयाँ प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक सहितका एरिया इन्चार्जहरूको हेरफेर भएपछि क्यासिनो सञ्चालकहरूको मनोबल झन् बढेको देखिएको छ।
वीरगञ्जको नागरिक समाजले एसपी पाठकसँग नेपालीको अनधिकृत प्रवेश र अवैध जुवा कारोबार नियन्त्रण गर्न कडा कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ। नागरिक अगुवाहरूका अनुसार, “वीरगञ्जका क्यासिनोहरू विदेशीको नाममा दर्ता भए पनि सञ्चालन, ग्राहक र कारोबारमा नेपालीको संलग्नता स्पष्ट देखिन्छ।”
स्थानीयहरूले वीरगञ्जका क्यासिनोहरूमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन र छापामार अभियान सञ्चालन गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। प्रहरी स्रोतका अनुसार, क्यासिनोहरूको कानुनी अनुमति सीमित क्षेत्र र विदेशी पर्यटकका लागि मात्र भए पनि व्यवहारमा “खुला प्रवेश प्रणाली” कायम रहेको छ।
विशेष गरी पर्सा, बारादेखि मकवानपुरसम्मका नवधनाढ्य र व्यवसायी घरानाका सदस्यहरू जुवाको लतमा फसेर आर्थिक संकटमा परेका खबरहरू सार्वजनिक भइरहेका छन्।
स्थानीय सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार, “वीरगञ्जका क्यासिनोहरू अहिले धन र मान गुमाउने केन्द्र बन्दै गएका छन् । तत्काल नियन्त्रण नलिए ठूलो सामाजिक समस्या निम्तिन सक्छ।”















