४ कार्तिक, काठमाडौँ । इजरायलमा हमासको आक्रमणका क्रममा मारिएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा आज बिहान भीमदत्त नगरपालिका–४ बाट सुरु भएको छ। शवयात्रामा जोशीका आफन्त, स्थानीयबासी, सुरक्षा निकायका प्रतिनिधि र नेपालका लागि इजरायलकी राजदूतसहितका अधिकारी सहभागी भएका छन्।
जोशीको अन्त्येष्टि महाकाली नदी किनारस्थित भुजेला घाटमा धार्मिक परम्पराअनुसार राष्ट्रिय सम्मानका साथ गरिँदैछ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अन्त्येष्टिमा सुरक्षाकर्मीहरूको औपचारिक उपस्थितिमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ। उनले भने, “विपिन जोशीको योगदान र घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारको तर्फबाट राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुने भएको हो।”
विपिन जोशीको अन्त्येष्टिमा नेपालस्थित इजरायली राजदूतसहित तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डल पनि सहभागी भएको छ। उनीहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई सहानुभूति प्रकट गरेका छन् ।
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। आक्रमणपछि उनको अवस्था लामो समयसम्म अज्ञात रह्यो । गत असोज २७ गते (२०२५) इजरायली अधिकारीहरूले विपिन जोशीको मृत्यु पुष्टि गरेका थिए।
जोशी इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी थिए। उनका सहपाठीहरूका अनुसार, उनी किबुत्ज क्षेत्रको एक कृषिक केन्द्रमा स्वयंसेवकका रूपमा कार्यरत थिए।
जोशीको शव सोमबार नेपाल ल्याइएको थियो । नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको शवलाई धनगढी विमानस्थलमा सम्मानपूर्वक सलामी अर्पण गरेर परिवारका सदस्यलाई बुझाइएको थियो।
त्यस क्रममा इजरायली दूतावासका प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय प्रशासनका अधिकारीहरू उपस्थित थिए। शव घर ल्याइएपछि इजरायली राजदूतासहितको टोलीले विपिनको परिवारसँग भेट गरी सहानुभूति र संवेदना प्रकट गरेको थियो।
भीमदत्त नगरपालिका र आसपासका क्षेत्रमा जोशीको निधनप्रति गहिरो शोक र श्रद्धाञ्जलीको वातावरण छ। स्थानीय विद्यालयहरू र संस्थाहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरेका छन् ।
जोशीको निधनले विदेशमा अध्ययनरत र कार्यरत नेपाली युवाहरूको सुरक्षासम्बन्धी प्रश्न पुनः चर्चामा आएको छ।















