४ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशको दोस्रो रेडियो स्टेशनका रूपमा २०६३ साल कार्तिक ४ गते स्थापना भएको सामुदायिक रेडियो नारायणी एफएम १०३।८ मेगाहर्जले १९ औं वर्ष पूरा गर्दै गौरवपूर्ण २०औं वर्षमा प्रवेश गरेको छ।
स्थापना कालदेखि नै लोकतन्त्र, शान्ति, सामाजिक न्याय र सुशासनको पक्षमा निरन्तर वकालत गर्दै आएको नारायणी एफएमले विगतका आरोह–अवरोह र चुनौतीपूर्ण यात्रामार्फत सामुदायिक सञ्चारको एक विश्वसनीय माध्यमको रूपमा आफ्नो परिचय बनाएको अध्यक्ष गोविन्द देवकोटाले शुभकामना सन्देशमार्फत बताएका छन्।
मुलुक अहिले गम्भीर राजनीतिक संक्रमणको अवस्थाबाट गुज्रँदैछ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र र नागरिक सर्वोच्चतामाथि भइरहेको हस्तक्षेपले मुलुकलाई थप अस्थिरताको दिशातर्फ लैजाने खतरा देखिएको छ। शासन प्रणालीमा देखिएको भ्रष्टाचार, बेथिति र कुशासनले नागरिकमा बढ्दो निराशा र असन्तोष ल्याइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“यस्तो विषम राजनीतिक र आर्थिक चुनौतीको अवस्थामा पनि सामुदायिक रेडियोहरूको अस्तित्व कायम राख्नु आफैंमा ठूलो उपलब्धि हो,” अध्यक्ष देवकोटाले भने, “नारायणी एफएम समुदायको सच्चा साथीका रूपमा अझ सशक्त र जिम्मेवार रूपमा अघि बढने छ भन्ने विश्वास लिएको छु।”
उनले रेडियोको दुई दशक लामो यात्रामा योगदान पु–याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई, पूर्व अध्यक्ष विजय कुमार सरावगी, संस्थापक स्टेशन व्यवस्थापक डा. शिव तिवारी, पूर्व स्टेशन व्यवस्थापक केसी लामिछाने, पूर्व कार्यसमिति, सल्लाहकार, वर्तमान टिम, विज्ञापनदाता, सदस्य, रेडियोकर्मी र शुभेच्छुक सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।
देवकोटाले थपे, “नयाँ प्रविधि र सोचसँग जुझ्दै ‘समुदायको नजिकको साथी’का रूपमा नारायणी एफएम अझ प्रखर रूपमा अघि बढोस् भन्ने अपेक्षा लिएको छु।”
यस अवसरमा उनले तिहार, छठ पर्व र नेपाल संवत्को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरे।
सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो आरम्भकालदेखि नै सामाजिक चेतना र जनअधिकारका पक्षमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ। जननिर्वाचित संस्थाहरू नहुँदा समेत रेडियोले राज्यका निकाय र जनताबीचको पुलको रूपमा काम गरी सुशासन र उत्तरदायित्वका पक्षमा आवाज बुलन्द गरेको थियो।
“हिजोका कठिन घडीमा नारायणी एफएमले बोक्सी प्रथा, कुसंस्कार र विभेदका विरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरेको थियो। धामी–झाँक्रीलाई अभिमुखीकरण कार्यक्रमदेखि लिएर औद्योगिक क्षेत्रमा देखिएको अराजकता नियन्त्रणका लागि रोजगारदाता संस्था वीरगञ्ज उद्योग वाणिज्य संघ र सात मजदुर ट्रेड युनियनबीच १९ बुँदे औद्योगिक शान्ति घोषणा पत्र सार्वजनिक गर्न पनि रेडियोले अग्रणी भूमिका खेलेको थियो।”
देवकोटाले अन्त्यमा भने, “रेडियोको सार्थकता समुदायकै सहभागिता र विश्वासमा निहित छ। यही आत्मविश्वासका साथ नारायणी एफएमको आगामी यात्रा अझ ऊर्जाशील र जनमुखी बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”

















