४ कात्तिक,रौतहट । रौतहटको गरुडा नगरपालिका–८ स्थित बिर्ता बजारमा रहेको ‘शुभ लक्ष्मी महिमा वस्त्रालय’ नामक कपडा पसलमा गएराति भएको भीषण आगलागीले ठूलो क्षति पुर्याएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९:५० बजे केदारनाथ साहको पक्की घरमा रहेको पसलमा आगलागी भएको हो। पसल गरुडाका बिगन साहद्वारा सञ्चालित रहेको बताइएको छ।
आगलागीको खबर पाउनेबित्तिकै प्रहरी चौकी बिर्ताबाट प्रहरी हवल्दार राजु साहको कमाण्डमा गएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा राति करिब १०:३० बजे आगो नियन्त्रणमा ल्याउन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी शंकर प्रसाद आचार्यले जानकारी दिए।
आगलागीका कारण पसलभित्र रहेका विभिन्न प्रकारका कपडाहरू र काठका र्याकहरू जलेर आंशिक रूपमा क्षति पुगेको प्रहरीले प्रारम्भिक रूपमा जनाएको छ। यद्यपि, घटनामा कुनै मानविय वा चौपाया क्षति भने नभएको पुष्टि गरिएको छ।
स्थानीयवासीका अनुसार आगलागीको कारण विद्युत लाइनमा सर्टसर्किट भएको अनुमान गरिएको छ। प्रारम्भिक मूल्यांकन अनुसार करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको छ। यद्यपि, पूर्ण विवरण संकलनको कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।















