Logo

४ कात्र्तिक,  काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको डाँका चोरीको एउटा महत्त्वपूर्ण घटनामा पक्राउ परेका दुई जना आरोपित कारागार चलान भएका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट गरगहना लुटपाट गरेको आरोपमा समातिएका उनीहरू अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका हुन् । ललितपुर जिल्ला अदालतले आपराधिक उपद्रव र डाँका(चोरीको कसुरमा मुद्दा चलाइएका उदयपुरका सुजन सेवा र महोत्तरीका सञ्जय परियारलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, दुवै आरोपीले उक्त धरौटी रकम तिर्न नसकेपछि पुर्पक्षका लागि कारागार पठाइएको छ ।

६४ लाख बराबरका गरगहना लुटिएको दाबी

नेता कार्कीले आफ्नो घरबाट ६४ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहनासहित अन्य सामग्री लुटिएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

साढे ७४ लाखको क्षति

गरगहना र नगद लुटपाटको अतिरिक्त फर्निचर, कपडा र तीनवटा मोटरसाइकल बा ९१ प ३९५९ नम्बरको यामाहा, पल्सर तथा स्कुटर समेत गरी १० लाख रुपैयाँ बराबरको सामान जलाएर क्षति पुर्‍याइएको भन्दै उजुरी परेको थियो। यसरी गरगहना, सामान र नष्ट गरिएका सम्पत्तिसहित करिब साढे ७४ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी कार्कीले गरेका छन् ।


सम्बन्धित समाचार