Logo

४ कात्तिक,वीरगञ्ज ।  बारा जिल्लाको फेटा गाउँपालिका–१ का प्रथम वडाध्यक्ष जयप्रकाश दाससहितका युवा टोलीले मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग बङ्गरी नदीमा भइरहेको प्रदूषण रोकथाम तथा स्थानीय विकास निर्माणका विषयमा विशेष भेटवार्ता गरेका छन्। हिन्दूहरूको महान चाडपर्व दीपावली र छठ पर्वको समयमै पनि बङ्गरी नदीमा श्रीपुरस्थित रिलायन्स सुगर मिल्सबाट औद्योगिक फोहोर पानी मिसावट रोक्नुपर्ने माग गर्दै टोलीले मुख्यमन्त्री सोनलको निजी निवासमा पुगेर ध्यानाकर्षण गराएको हो।

भेटवार्ताका क्रममा नदी प्रदूषण नियन्त्रणका लागि तत्काल वैकल्पिक र सुरक्षित व्यवस्था मिलाउन तथा प्रदूषणमा संलग्न उद्योगमाथि कडा कारबाही गर्न प्रदेशस्तरीय आकस्मिक हस्तक्षेप गर्न माग गरिएको थियो। स्थानीय युवाहरूले नदी प्रदूषणले गाउँमा दुर्गन्ध फैलिनुका साथै जलस्रोत र वातावरणीय स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै यसलाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।

वडाध्यक्ष जयप्रकाश दासले दिएको जानकारीअनुसार युवाहरूले गाउँको समग्र विकासका लागि चारवटा मुख्य विषयमा छलफल गरेका थिए: १. बङ्गरी नदीमा मिसाइएको फोहोर पानीको तत्काल रोकथाम, २. अकवनिया–भलुही जोड्ने पुल निर्माणको पहल, ३. अकवनियास्थित बङ्गरी नदीमा लगाइएको बाँधको मर्मत, र ४. मंगदवा पुलदेखि त्रिवेणी नहरसम्मको कालोपत्रे सडक निर्माण।

मुख्यमन्त्री सोनलले टोलीद्वारा उठाइएका मागहरू ध्यानपूर्वक सुनेर प्रदेश सरकार स्तरबाट आवश्यक पहल र सम्भाव्य योजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वडाध्यक्ष दासले बताउनुभयो।


सम्बन्धित समाचार
भर्खरै