Logo

४ कार्तिक, काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै पाँच बुँदे माग राखेका छन्। बालुवाटार पुगेका घाइतेहरूले आन्दोलनमा भएको हिंसा, भ्रष्टाचार र संविधानसहितका विषयमा गम्भीर ध्यानाकर्षण गराएका हुन्।

घाइते प्रतिनिधि रुपिन खड्काले जानकारी दिएअनुसार पाँच प्रमुख मागहरूमा गोली प्रहारकर्ताको कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन र सरकारको स्पष्ट जिम्मेवारीको माग गरिएको छ।

“हामीले ५ बुँदे माग सम्बोधन गर्न सरकारलाई अल्टिमेट दिएका छौं,” खड्काले बताए। उनीहरूले आन्दोलनप्रति सरकारले देखाएको उदासीनता र ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका घाइतेहरूसँग संवाद गर्दै सरकार आन्दोलनको मर्मलाई गम्भीरतासाथ लिएको बताइन्।“हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं। प्रक्रियासम्मत र कानुनी ढंगले अघि बढ्छौं। सरकारलाई दिएको म्यान्डेटअनुसार काम गरिरहेका छौं,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट गर्दै भ्रष्टाचार छानबिन पनि तीव्र गतिमा भइरहेको बताइन्।“चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका निकायहरूले आ–आफ्नो ठाउँबाट तीव्र गतिमा काम गरिरहेका छन्,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले नागरिकहरूलाई निरन्तर आवाज उठाउन र सरकारलाई दबाब दिन आग्रह गरिन्।“तपाईंहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ,” उनले भनिन्।

उनले पछिल्ला छानबिनहरूपछि बाहिर भइरहेका प्रतिक्रियाहरूको संकेत गर्दै अनुसन्धानले महत्वपूर्ण मोड लिइरहेको पनि जनाइन्।


सम्बन्धित समाचार
भर्खरै