Logo

४ कात्र्तिक, काठमाडौँ । जेनजी आन्दोलनले दिएको जनादेश र त्यसको मर्मअनुसारै सरकार चल्ने प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

मंगलबार बालुवाटारमा आन्दोलनका क्रममा घाइते भएका युवाहरूको टोलीसँगको छलफलमा उनले वर्तमान सरकार ‘आन्दोलनको मर्मभन्दा बाहिर नजाने’ स्पष्ट पारेकी हुन् । उनले राज्यका स्थापित निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन् र अनुसन्धानमा कुनै कमी नहुने बताइन् । उनले सरकारले तोकेको समयमा नै निर्वाचन सम्पन्न हुने विश्वास पनि दिलाइन् ।

भ्रष्टाचारीमाथि कठोर कदम चाल्न घाइते युवाहरूको चेतावनी

रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहमा रहेका आन्दोलनका घाइतेहरूले भने छलफलका क्रममा कठोर सुझाव र चेतावनी दिएका छन् । उनीहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सरकारलाई आग्रह गरे। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् । युवाहरूले जेनजीले उठाएका मूल मुद्दाहरूमा भन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।

छलफलमा सञ्चारमन्त्री जगदीश खरेलले पुरानै संरचना कायम रहँदा काम गर्न असहज भएको बताए भने गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र दमनबारेको छानबिनमा भएको प्रगतिबारे घाइतेहरूलाई जानकारी गराएका थिए । यस भेटले सरकारले आन्दोलनको भावनालाई कत्तिको सम्बोधन गर्न सक्छ भन्ने विषयमा थप चासो बढाएको छ ।


सम्बन्धित समाचार