४ कात्र्तिक, काठमाडौँ । जनमत पार्टीले आफ्नो केन्द्रीय समितिलाई अद्यावधिक गर्दै आन्तरिक खिचातानी र नेताहरूको बहिर्गमनपछि संगठनलाई चुस्त दुरुस्त बनाउने कदम चालेको छ ।
पार्टी छाडेका र अनुशासनको कारबाहीमा परेका उच्च नेताहरूलाई हटाएपछि पार्टीको केन्द्रीय कार्यसमितिको नामावली पुनर्गठन गरिएको हो । पार्टीका उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादव लगायतका नेताहरूले राजीनामा दिएका थिए भने उपाध्यक्ष ई. दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र सचिव वीपी साह लगायतका नेताहरूलाई कारबाही गरी हटाइएको थियो र उनीहरूको नाम अब केन्द्रीय समितिको सूचीबाट हटाइएको छ ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार, अद्यावधिक गरिएका केन्द्रीय पदाधिकारीहरूको वरियताक्रम अब निर्धारण भएको छ। केन्द्रीय सदस्यहरूमा केही नेता थपिए पनि पदाधिकारीहरूमा भने नयाँ अनुहार थपिएको छैन । पार्टीको नेतृत्वमा अध्यक्ष डा. सिके राउत यथावत् छन् भने उपाध्यक्षहरूमा ई. वसन्त कुशवाहा, ई. नरेन्द्र चौधरी, नरसिंह चौधरी, दान बहादुर चौधरी र डा. जयकान्त राउत रहेका छन् ।
महासचिवमा चन्दन सिंह र उपमहासचिवमा ई. इन्द्रजीत यादव कायम छन् । त्यसैगरी, सचिवहरूमा अनिता मण्डल, अनिता देवी साह, भोपेन्द्र यादव, राधा यादव, संजय यादव, हेमलाता रजक र बाल गोविन्द चौधरी अटाएका छन् ।

















