Logo

४ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने ऐतिहासिक तथा धार्मिक स्थल गहवा माई मन्दिर परिसरमा बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ।

वडा प्रहरी कार्यालय विर्ता र हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा सम्पन्न सो अभियानमा स्थानीय बासिन्दा, समाजसेवी, युवा तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो।

अभियानको नेतृत्व वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले गरेका थिए। भर्खरै सरुवा भई आएका सुवेदीको सक्रियता, जनमुखी व्यवहार र समुदायसँगको सहकार्यले स्थानीयवासीहरूलाई सकारात्मक सन्देश पुगेको छ। आम सर्वसाधारण उनीप्रति सन्तुष्ट र उत्साहित देखिएका छन्।

कार्यक्रमको अध्यक्षता हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष रिशु कुमार बर्माले गरेका थिए भने प्रमुख सहसंयोजक तथा सल्लाहकार अमर सर्राफ रहेका थिए।

फाउण्डेशनका सदस्यहरू अर्जुन गुप्ता, अभिनय कुमार, राजा गुप्ता लगायतका स्वयंसेवकहरूले मन्दिर परिसर वरिपरिका फोहोर हटाउँदै क्षेत्रलाई सफा, आकर्षक र श्रद्धालुहरूको लागि स्वागतयोग्य बनाएका थिए।

कार्यक्रममा सहभागीहरूले धार्मिक स्थलको संरक्षण, सामुदायिक उत्तरदायित्व र सफा सहर, स्वस्थ जीवन अभियानलाई बल पु¥याउने सन्देशसमेत दिएका थिए।

हेल्प टुगेदर फाउण्डेशनले आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ भने वडा प्रहरी कार्यालय विर्ताले पनि समुदायसँग सहकार्यमा अपराध नियन्त्रण र सामाजिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जानकारी दिएको छ।

स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजबीचको यस्तो सहकार्यले वीरगञ्ज जस्ता शहरी क्षेत्रमा सामाजिक रूपान्तरणका अभियानलाई थप गति दिने विश्वास लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै