५ कार्तिक, वीरगञ्ज । मधेशमा मनाइने हरेक सांस्कृतिक पर्वको नाम अघि ‘मिथिला’ शब्द जोड्ने प्रवृत्तिप्रति साहित्कार गोपाल अश्कले आपत्ति जनाएका छन् । उनले यस अभ्यासलाई “संस्कृति होइन, बजार–प्रेरित सोच” (मार्केटिङ्ग) को संज्ञा दिएका छन् ।
वीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएमको एक कार्यक्रममा बोल्दै अश्कले पछिल्ला वर्षहरूमा हरेक पर्वलाई मिथिलासँग मात्र जोड्ने प्रवृत्तिले सांस्कृतिक विविधताको सम्मान घटाउने जोखिम बढाएको बताएका हुन् ।
उनले भने, “छठ, गोवर्धन पूजा, झिझिया वा सामा–चकेवा लगायतका पर्व केवल मिथिलाको होइन; यी सम्पूर्ण मधेशका सामूहिक सांस्कृतिक सम्पदा हुन् । हरेक पर्व अगाडि ‘मिथिला’ शब्द जोड्नु एक किसिमको सांस्कृतिक मार्केटिङ्ग हो, जसले भूगोललाई अनावश्यक रूपमा संकुचित गर्छ ।”
‘मधेशको सांस्कृतिक पहिचानलाई एकाकार गरौँ’
अश्कले प्रदेश–आधारित वा भूगोल–केन्द्रित शब्दावली प्रयोगले सांस्कृतिक एकता कमजोर हुने बताउँदै, यस्ता पर्वलाई ‘मधेशका पर्व’ भनेर उल्लेख गर्न सुझाव दिएका छन् ।
उनका शब्दमा, “मधेशको प्रत्येक जिल्ला, समुदाय र जातीय समूहले यी पर्वलाई आफ्नै ढङ्गले मनाउँछ । त्यसैले यी पर्वलाई ‘मधेशका पर्व’ भनेर सम्बोधन गर्नु नै अधिक समावेशी र यथार्थपरक हुन्छ ।”
साहित्य, लोकसंस्कृति र पत्रकारितामा सक्रिय अश्कले माध्यमहरूले शब्दप्रयोगमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।
“मीडिया हाम्रो समाजको भाषिक दर्पण हो,” उनले भने, “यदि त्यो दर्पणले विविधतालाई एक मात्र शब्दमा सीमित ग¥यो भने हाम्रो सांस्कृतिक सन्तुलन बिग्रिन्छ ।”
हालका वर्षहरूमा मिडिया तथा सामाजिक सञ्जालमा ‘मिथिलाको छठ’, ‘मिथिलाको गोवर्धन पूजा’, ‘मिथिलाको झिझिया’ जस्ता शीर्षकहरू व्यापक देखिन थालेका छन् । यसले मिथिला क्षेत्रका परम्परागत अभ्यासलाई प्राथमिक रूपमा प्रस्तुत गरे पनि मधेशका अन्य क्षेत्र र समुदायहरूको सहभागिता ओझेलमा पार्ने आलोचना हुँदै आएको छ ।
उनले भने, “मधेशको सौन्दर्य नै यसको विविधता हो । त्यो विविधता बचाउन भाषिक सावधानी आवश्यक छ । हामी सबैले आफ्ना पर्वलाई साझा सम्पत्ति ठानेर समावेशी पहिचान निर्माण गर्नुपर्छ ।”

















