Logo

५ कात्तिक,काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टोली बंगलादेश भ्रमणमा रहेको अहिले तीन खेलको एकदिवसीय शृंखला चलिरहेको छ। दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक सबै ५० ओभर स्पिन बलरमार्फत बलिङ गराउने अनौठो कीर्तिमान बनाएको छ।

बंगलादेशविरुद्धको दोस्रो एकदिवसीयमा क्यारेबियन टोलीले एक पनि तीव्र गतिका बलर प्रयोग नगरी, पूरा खेल स्पिन बलरहरूमै भर पर्‍यो। वेस्ट इन्डिजका स्पिन बलर अकिल होसैन, रोस्टन चेज, खारी पियर, गुडाकेस मोटी र एलिक अथान्जले समान रूपमा १०–१० ओभर बल फालेका थिए।

यसअघि, सन् १९९६ मा श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय खेलमा आफ्ना स्पिन बलरलाई ४४ ओभर बलिङ गराएको थियो, जुन अहिलेसम्मकै उच्च मानिन्थ्यो। तर वेस्ट इन्डिजले उक्त कीर्तिमान तोड्दै इतिहासमा पहिलोपटक ५० ओभर नै स्पिनबाट गराएको हो।

उक्त खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो। जवाफी इनिङमा वेस्ट इन्डिजले पनि ९ विकेट गुमाएर सोही स्कोर बराबरी गर्‍यो। खेल बराबरी भएपछि ‘सुपर ओभर’मा प्रवेश गर्‍यो, जसमा वेस्ट इन्डिज विजयी भयो।

वेस्ट इन्डिजले बलिङमा जस्टिन ग्रिब्सलाई सामेल गरे तापनि, तीव्र गतिका बलर भएका उनले कुनै ओभर बल फालेनन्। गुडाकेस मोटीले ३ विकेट लिए भने अकिल होसैन र एलिक अथान्जले २–२ विकेट लिए।

शृंखलाको पहिलो खेलमा बंगलादेशले ७४ रनको फराकिलो जित दर्ता गरेको थियो। अब तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिनेछ, जसले शृंखलाको निर्णायक टुङ्गो लगाउनेछ।


सम्बन्धित समाचार