५ कात्तिक,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बुढानीलकण्ठस्थित निवासमा भएको आगजनी प्रकरणमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सोनाम थेबे रहेको पुष्टि भएको छ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते भण्डारीको घरमा आगजनी भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले थेबे धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिए।
सोनाम थेबेको राजनीतिक संलग्नता विषयमा विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा उनलाई नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको कार्यकर्ता भनी चर्चा भए तापनि, युवा संघ नेपालले उक्त जानकारी खण्डन गरेको छ।
युवा संघका प्रवक्ता निरोज पौडेलले जारी गरेको विज्ञप्तिमा थेबे आफूहरूको संगठनमा आबद्ध नरहेको स्पष्ट गरिएको छ।
पक्राउ परेका थेबेको प्रत्यक्ष संलग्नता देखाउने भनिएको एउटा भिडिओ पनि सार्वजनिक भएको छ, जसमा थेबे आन्दोलनका प्रमुख अभियन्ता रविकिरण हमालसँग हेल्मेट लगाएर उभिएका देखिएका छन्।
प्रहरीले उनलाई आगजनीसम्बन्धी घटनामा थप अनुसन्धानको लागि नियन्त्रणमा राखेको र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।















