५ कात्र्तिक, काठमाडौं । गत असार २४ गते ल्हेन्देखोलमा आएको बाढीले बगाएको नेपाल–चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बेलिब्रिज तीव्र गतिमा अघि बढेसँगै कात्तिक १५ गतेदेखि सञ्चालनमा आउन सक्ने सम्भावना बढेको छ । निर्माण कार्यको स्थलगत निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेश पन्थीले कामको गति हेर्दा पुल निर्धारित समयमै सञ्चालनमा आउने आकलन गरिएको जानकारी दिएका छन् । यद्यपि, पुल सञ्चालनको आधिकारिक मिति सीमाक्षेत्रका चिनियाँ समकक्षीबाट आउन भने बाँकी रहेको उनले स्पष्ट पारेका छन् ।
पुलको दुई किनारको भाग जोड्ने क्रममा बीच भागमा लचकता देखिएपछि चिनियाँ प्राविधिक टोलीले खोलाको बीचमा थप पिलर ठड्याएर यसलाई बलियो बनाउने काम गरिरहेको छ । पुल बलियो बनाउने यो प्रयासले व्यवसायीहरूमा व्यापार सहज हुने आशा पलाएको छ ।
पुल सञ्चालनमा आएसँगै चीनतर्फबाट सामान आयात सहज हुने भएकाले भन्सार प्रक्रियाका लागि कर्मचारीहरू तयार रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताएका छन्।

















