६ कार्तिक, काठमाडौँ । युक्रेनमा शान्ति सम्झौता गराउन रूसमाथि दबाब बढाउने उद्देश्यसहित अमेरिकाले रूसका दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लुकोइलमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उक्त कदम रूसलाई युद्ध अन्त्यतर्फ ल्याउने प्रयासको हिस्सा भएको बताएका हुन्।
राष्ट्रपति ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिन शान्ति प्रक्रियामा “गम्भीर नभएको” आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार, “रूसले युक्रेनमा युद्ध रोके र वार्तामा सहभागी हुने प्रतिबद्धता जनाएमा यी प्रतिबन्ध तुरुन्तै फिर्ता लिइनेछ।”
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले रोसनेफ्ट र लुकोइलले “क्रेमलिनको युद्ध मेसिनलाई आर्थिक इन्धन” उपलब्ध गराइरहेको आरोप लगाएका छन्। उनले बीबीसीसँगको कुराकानीमा भने, “यी कम्पनीहरू रूसको आक्रमणलाई प्रत्यक्ष आर्थिक सहयोग गर्दै आएका छन्, जसका कारण नयाँ प्रतिबन्ध अपरिहार्य भएको हो।”
नयाँ प्रतिबन्धको घोषणा ट्रम्प–पुटिनबीच बुडापेस्टमा हुने भनिएको वार्ता अन्तिम समयमा स्थगित भएपछि आएको हो।
राष्ट्रपति ट्रम्पले नेटो महासचिव मार्क रुटसँग भेटवार्ता गर्दै भने, “प्रत्येक पटक पुटिनसँगको कुराकानी सकारात्मक लाग्छ, तर त्यसपछि व्यवहारिक परिणाम नदेखिँदा निराशा हुन्छ।”
यसैबीच, पछिल्लो वार्ता प्रयास असफल भएपछि रूसले युक्रेनमा पुनः आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनका अनुसार, आक्रमणमा दुई बालबालिकासहित कम्तीमा सात जनाको ज्यान गएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार, यो प्रतिबन्ध प्याकेज रूसमाथि अहिलेसम्मको सबैभन्दा कडा आर्थिक दबाब हो, जसले रूसको ऊर्जा कारोबार र अन्तर्राष्ट्रिय लगानीमा ठुलो असर पार्ने अनुमान गरिएको छ।

















