९ कात्तिक,काठमाडौं । बिहार विधानसभा चुनाव–२०२५ नजिकिँदै गर्दा जनता दल युनाइटेड (जेडीयू) ले पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ११ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ।
जेडीयूले शनिबार राति सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। विज्ञप्तिमा भनिएको छ, “बिहार विधानसभा चुनाव २०२५ मा पार्टी विरोधी आचरण र गतिविधिमा संलग्न भएकाले निम्न सदस्यहरूलाई पार्टीको प्राथमिक सदस्यताबाट निलम्बन र निष्कासन गरिएको छ।”
जेडीयूले जारी गरेको सूचीअनुसार निष्कासित नेताहरूमा शैलेश कुमार, संजय प्रसाद, श्याम बहादुर सिंह, रणविजय सिंह, सुदर्शन कुमार, अमर कुमार सिंह, आस्मा परवीन, लब कुमार, आशा सुमन, दिव्यांशु भारद्वाज र विवेक शुक्ला रहेका छन्।
पार्टीले निष्कासनको आदेश तुरुन्तै लागू हुने जनाएको छ। चुनावको पूर्वसन्ध्यामा आएको यो कदमले जेडीयूभित्रका आन्तरिक मतभेद झल्काएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

















