९ कात्तिक, काठमाडौं । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः नियमित उडान सुरु गरेको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा सातामा दुईपटक उडान गर्नेछ। आइतबार र बुधबार नियमित रूपमा उडान गर्ने गरी कम्पनीले आफ्नो उडान तालिका स्वीकृत गराएको जनाइएको छ।
अहिलेका लागि भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एकमात्र एयरलाइन थाइ एयर एसिया रहेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भने अहिलेसम्म यहाँबाट नियमित उडान सञ्चालन गर्न सकेका छैनन्।
थाइ एयर एसियाको पहिलो पुनःउडान अन्तर्गतको जहाज आज बिहान भैरहवा विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको विमानस्थल स्रोतले जनाएको छ।
















