९ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आज भइरहेको खेलमा अमेरिकाले नेपाललाई जितका लागि २६३ रनको लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको योगफल तयार पार्यो।
अमेरिकाका लागि लिग स्मिथ पटेलले उत्कृष्ट ब्याटिङ गर्दै ७५ रनको अर्धशतकीय पारी खेले। १०० बल खेलेका उनले ५ चौका प्रहार गरे। यस्तै, मिलन्थ कुमारले पनि विस्फोटक ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्कासहित ७० रन बनाए।
अमेरिकाका अन्य ब्याट्सम्यानहरूमध्ये साइतेजा मुकामल्लाले ४२ रन तथा शुभम रन्जानेले १९ रनको योगदान दिए।
नेपालको बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका थिए।
आजको खेलमा जित निकाल्दै नेपाल लिग–२ को तालिकामा थप दुई अङ्क जोड्ने योजनामा छ। हाल नेपाल १६ खेलबाट १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ भने अमेरिका २० खेलबाट २८ अङ्कसँगै तालिकाको दोस्रो स्थानमा रहेको छ।

















