९ कात्तिक,वीरगञ्ज । छठपर्वको लागि देशभरमै प्रसिद्ध रहेको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरी यस बारे जानकारी गराएको हो।
समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको काम सम्पन्न भएको जानकारी गराएका छन्। उनले यस वर्ष छठघाटको सजावट र व्यवस्थापनमा गरी करिब २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।
खर्चको विवरण दिँदै कोषाध्यक्ष गुप्ताले टेन्ट÷पण्डाल सजावटमा ९ लाख, परिसर बाहिरको बत्ती सजावटमा ३ लाख, भिडियोग्राफीमा ३० हजार, पुरस्कारमा ५ लाख ५० हजार र सरसफाइमा १ लाख ५ हजार रुपैयाँ खर्च हुने जानकारी गराए।
सुरक्षा व्यवस्था कडा
सुरक्षा उपसमितिका संयोजक मुन्ना साहका अनुसार, छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिनेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ६० जना स्वयंसेवक परिचालन गरिने उनले बताए।
यस्तै, छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने साहले जानकारी दिए।
गत वर्ष बचत भएको थियो रकम
कोषाध्यक्ष गुप्ताले गत वर्षको छठमा छठघाट सजावट र व्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपैयाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर २ लाख ९३ हजार २७२ रुपैयाँ बचत भएको जानकारी दिए।
समितिका अध्यक्ष राकेश साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरू प्रमानन्द साह, वाल्मीकि साह, हिरा साह, प्रेम साह कानू, मदन प्रसाद कलवार, दिलिप साह कानू, वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानू लगायतको पनि सहभागिता थियो। पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसमितिका संयोजक प्रणय साहले गरेका थिए।















