Logo

१० कात्र्तिक, काठमाडौं । जेनजी प्रदर्शनको समयमा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई अन्ततः काठमाडौँ उपत्यका छाड्ने अनुमति प्राप्त भएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले लगाएको उपत्यका बाहिर नजान पाउने रोकलाई आयोगले नै सर्तसहित फुकुवा गरेको हो । हाल राष्ट्रिय योजना आयोगका सदस्य सचिव रहेका दुवाडीलाई जेनजी प्रदर्शनबाट भएको क्षतिको विवरण संकलन समितिको संयोजकको हैसियतमा उपत्यका बाहिर जान अनुमति दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार दुवाडी क्षतिको विवरण संकलन समितिको संयोजक भएकोले उपत्यका बाहिर भएको क्षतिको यकिन विवरण संकलन गर्ने कामको लागि आयोगले बाहिर जान अनुमति दिएको हो ।

गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित आयोगले दुवाडीसहित ५ जना उच्च पदस्थ व्यक्तिहरूलाई उपत्यका छाड्न रोक लगाउँदै उनीहरूको पासपोर्ट समेत रोक्का गरेको थियो। उपत्यका छाड्न रोक लगाइएकाहरूमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसमेत रहेका छन् ।

स्मरण रहोस्, प्रदर्शनकारीहरूले भदौ २४ गते बलम्बुस्थित तत्कालीन गृहसचिव दुवाडीको निजी निवासमा समेत आगजनी गरेका थिए । यस्तो संवेदनशील अवस्थाकाबीच, क्षतिको विवरण संकलनका लागि उनले उपत्यका बाहिर जाने विशेष सुविधा प्राप्त गरेका छन् ।


सम्बन्धित समाचार