१० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले देशको राजनीतिलाई रोक्ने वा छेक्ने प्रयास गरिए ठूलो विध्वंश निम्तिने गम्भीर चेतावनी दिएका छन् ।
छठ पर्वको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले प्राकृतिक बहावलाई थुन्दा आउने विध्वंशको उदाहरण दिँदै राजनीतिको बाटोमा अवरोध नगर्न आग्रह गरेका छन् । भट्टराईले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई हामीले थुन्न थाल्यौं, छेक्न थाल्यौँ, यसको बाटो रोक्न थाल्यौँ भने राजनीतिमा पनि ठूलो बितण्डा आउन सक्दछ भनेका छन् ।
उनले पार्टीभित्र होस् वा समाजमा, राजनीतिको प्राकृतिक बहावलाई नरोकी सहज ढंगले अगाडि बढ्न दिनुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलनबाट पाठ सिक्न पनि उनले आग्रह गरेका छन् । नेता भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनलाई मुलुक अकल्पनीय ढंगले अगाडि बढेको टिप्पणी गर्दै सो घटनाबाट सबैले पाठ सिक्नुपर्ने र आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।
उनले भदौ २३ र २४ को घटनाबाट पाठ सिक्दै नेपाललाई फेरि लोकतान्त्रिक अभ्यासमा फर्काउन र संविधानलाई क्रियाशील बनाउन आह्वान गरेका छन् ।
साथै, उनले देशका सबै राजनीतिक दलहरू र जेनजी आन्दोलनपछि उदाएका नयाँ शक्तिहरूका बीचमा समेत सहकार्य गरेर देशलाई सही निकास दिनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले छठ पर्वले सबैलाई एकता र सद्भावको बाटो देखाउन सकोस् भन्ने कामनासमेत गरेका छन्।

















