१० कात्र्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन कार्यकर्ता तथा आम नागरिकलाई आह्वान गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै महासचिव विप्लवले स्वाधीनता र समाजवादुको पक्षमा एकताबद्ध हुन सबैलाई आग्रह गरेका हुन्। उनले नेपालको भाग्य अरू कसैले नभई नेपाली आफैँले फेर्नुपर्नेमा जोड दिँदै देशको उन्नति र आत्मसम्मानका लागि भ्रष्ट र दलाल शक्तिहरूलाई समाप्त पार्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
विप्लवले लेखेका छन्, “नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू।”
नेकपाले हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकबाट विभिन्न चरणमा सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको थियो। कात्तिक २० गतेको यो आमसभा सोही सङ्घर्षको एक महत्वपूर्ण कडी रहेको बताइएको छ ।

















